७ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्मलाको हत्यारा पक्रन माग गर्दै हजारौं नागरिक सडकमा

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७५, शनिबार १५:२०

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । अपराधी पत्ता लगाउन सरकारलाई दबाब दिने उद्देश्यले हजारौं नागरिक सडकमा उत्रिएका हुन् ।

निर्मला हत्या प्रकरणले देश तातिरहेका बेला काठमाडौंको माइतीघर मन्डलामा भेला भएका सयौं व्यक्तिहरुले हत्यारालाई सजाय दिन माग गर्दै विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा विभिन्न पेसाकर्मीदेखि वृद्धवृद्धा र बालबालिकासमेत सहभागी थिए ।

माइतीघर मन्डलामा भेला भएका प्रदर्शनकारीहरु सरकारविरुद्ध नारा लगाउँदै नयाँबानेश्वर चोकमा पुगेका थिए । टन्टलापुर घामको पर्वाह नगरी सहभागीहरुले निर्मलाले न्याय पाउनुपर्ने माग गरेका थिए । मुलुकै तताएको यस हत्याकान्डको दोषी पत्ता लगाइ कारबाही गराउनका लागि सडकमा उत्रनुपरेको राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाको भनाइ छ ।

राप्रपाका नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापा सरकारको कमजोरीका कारण हत्याराले प्रश्रय पाएको भन्दै कुनैपनि हालतमा पनि छुट दिन नहुने बताउँछन् । न्यायको खोजी गर्दै कन्चनपुरदेखि काठमाडौं आएका निर्मलाका अभिभावकले प्रदर्शनकैक्रममा छोरीलाई न्याय दिलाउन गरेको अपिल मार्मिक थियो ।

प्रदर्शनकारीको भीडबाट निर्मलाका अभिभावकलाई बाहिर निकाल्न हम्मे–हम्मे परेको थियो । पछिल्ला दिनमा हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराधलाई नियन्त्रण गर्न भन्दै नागरिक समाज सक्रिय हुन थालेको छ । शनिबारको प्रदर्शन पनि त्यसैको निरन्तता थियो ।