१४ बैशाख २०८१, शुक्रबार
Follow Us

समिति गठनका विषयमा कांग्रेसभित्र किचलो

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७५, शनिबार १५:२३

काठमाडौं । आन्तरिक विवादको रोगले ग्रस्त नेपाली कांग्रेस दिन–प्रतिदिन आन्तरिक किचलोमा फस्दै गएको छ । पार्टीभित्र संस्थापन र संस्थापनइतर पक्षले स–साना विषयमा पनि आफ्नो प्रतिष्ठाको विषय बनाउन थालेपछि विवाद गहिरिँदै गएको हो । विवादकै कारण बिहीबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डा तय गरेर बिहीबार बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच समिति गठनमा देखिएको विवाद नमिलेपछि बैठक स्थगित भएको हो । सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति तत्काल गठन गर्ने र बाँकी विभागहरु पछि गठन गर्दै लैजाने प्रस्ताव गरेका थिए ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अनुशासन समिति र निर्वाचन समिति गठनको मापदन्ड बनाउनुका साथै सबै विषय प्याकेजमै टुंगो लगाउनुपर्ने भन्दै सभापतिको प्रस्ताव अस्वीकार गर्‍यो । दुवै पक्ष आफ्नो अडानबाट नहटेपछि बैठक नै स्थगित गर्नुपर्‍यो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समिति गठनमा सहमति जुटेपछिमात्र केन्द्रीय समिति बोलाउन उचित हुने ठहर गरेर बैठक स्थगित गरिएको जानकारी दिए ।

हुन त कांग्रेसभित्र यस प्रकारको विवाद पहिलो भने होइन् । विभिन्न बहानामा पार्टीभित्र विवाद सिर्जना गर्ने विभिन्न गुट–उपगुट सक्रिय छन् । केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको भविष्यभन्दा आफ्नो व्यक्तिगत भविष्यको चिन्ता गर्ने प्रवृत्तिले आन्तरिक विवाद संस्थागत भइरहेको टिप्पणी गरे । कांग्रेसको विधानको दफा ३३ मा केन्द्रीय अनुशासन समिति गठनको व्यवस्था छ । विधानअनुसार अनुशासन समितिमा एक संयोजक र चारजना सदस्य रहन्छन् ।

यस्तै, पार्टी विधानको दफा २९ मा केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । विधानअनुसार केन्द्रीय कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र पार्टी प्रवक्ता पदेन सदस्य रहन्छन् । यसबाहेक केन्द्रीय कार्यसमितिले आफूमध्येबाट बढीमा २२ सदस्य चयन गर्ने विधानमा व्यवस्था छ ।