४ बैशाख २०८१, मंगलवार
Follow Us

मौलिक हक विधेयकहरु फाष्ट ट्रयाकबाट पारित गर्ने प्रक्रिया जारी

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७५, आईतवार ०७:१५

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाले आज पनि मौलिक हकसँग सम्बन्धित विधेयकहरु पारित गर्ने प्रक्रिया जारी राख्ने भएका छन् । मौलिक हकसम्बन्धी कानुन बनाउने समयसिमा सकित दुई दिन मात्र बाँकी रहँदा संघीय संसद्का दुवै सदन त्यसैमा केन्द्रित भएका हुन् । केही समयपछि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट आएका अपराध पीडित संरक्षण विधेयक र बालबालिकासम्बन्धी विधेयक पारितको प्रक्रिया सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

दुवै विधेयकमाथि संशोधन दर्ताका लागि बिहान साढे १० बजेसम्मको समय प्रदान गरिएको थियो । नियमित प्रक्रियामा जाँदा ढिलाई हुने भएपछि नियम निलम्बन गर्दै फाष्ट ट्रयाकबाट प्रक्रिया अघि बढाइएको हो । प्रतिनिधिसभाले २ दिनमा १३ विधेयक पारित गरिसकेको छ ।

यसैबीच राष्ट्रियसभाको आज बस्ने बैठकले प्रतिनिधिसभाबाट आएका विधेयक पारित गर्दैछ । बैठकमा हिजो प्रतिनिधिसभाबाट आएका ७ विधेयक पारितको पक्रिया अघि बढ्ने सचिवालयले जनाएको छ । प्रतिनिधिसभाबाट आएका विधेयकमाथिको संशोधन दर्ता गराउने समय विहान साढे १० बजेसम्म समय दिइएको थियो । सो समयभित्र परेका संशोधनसँगै विधेयक पारितको प्रक्रिया अघि बढ्नेछ ।