१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अभियानमा विवेकशील

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७५, आईतवार १४:२३

काठमाडौं । विवेकशील साझा पार्टीले सातवटै प्रदेशका उत्प्रेरक एवं सङ्गठकलाई प्रशिक्षण दिएको छ । शनिबार र आइतबार(आज) देशभरिका १५० जना उत्प्रेरक नेतालाई कार्यक्रममा सहभागी गराइएको प्रवक्ता डा सूर्यराज आचार्यले  जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संयोजक रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिका लागि आधार फराकिलो हुँदै गएकाले नेतृत्व गर्न लायक सङ्गठन निर्माणमा जुट्न उत्प्रेरकलाई आग्रह गर्नुभयो । अर्का संयोजक उज्वल थापाले वैकल्पिक राजनीतिका लागि सङ्गठनलाई पनि कुशलतापूर्ण विधिले अघि बढाइने बताउनुभयो ।

सो अवसरमा प्रवक्ता आचार्यले विवेकशील साझा पार्टीको आधारभूत वैचारिक, राजनीतिक तथा अर्थनीतिका बारेमा प्रशिक्षण दिनुभयो । वैकल्पिक राजनीतिका बारेमा लेख्दै र बोल्दै आउनुभएका केन्द्रीय सदस्यद्वय केशव दाहाल र गोविन्द नारायणले वैकल्पिक राजनीतिमा युवाको भूमिकाबारे जानकारी गराउनुभएको थियो ।

पार्टी सङ्गठन विभाग प्रमुख मुमाराम खनालले पार्टीको वैकल्पिक संरचना, आन्तरिक लोकतान्त्रिक अभ्यासको विधि, विधानको कार्यान्वयन तथा तीनमहिने सङ्गठन बिस्तार अभियानको महत्वमाथि प्रकाश पार्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले समावेशिता, सुबुना बस्नेतले उद्यमशीलता, शशिविक्रम कार्कीले सामाजिक अभियान, किशोर थापाले पार्टीको अनुशासन तथा सुशासन र अर्जुनसिंह ठकुरीले पार्टीको आन्तरिक व्यवस्थापनबारे प्रशिक्षण दिनुभएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।