११ बैशाख २०८१, मंगलवार
Follow Us

एक्साभेटर खोलामा खस्दा चालक बेपत्ता

sarusaru
१ आश्विन २०७५, सोमबार ०२:४८

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित नीलगिरि खोलामा आइतबार अपराह्न एक्साभेटर खस्दा चालक बेपत्ता भएका छन् ।

नीलगिरि खोला जलविद्युत् आयोजनाको सडक निर्माणमा प्रयोग भएको बुद्ध कन्ट्रक्सनको बा२क ६००७ नंको एक्साभेटर खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक निर्माणस्थलदेखि करीब १०० मिटर तल खोलामा खस्दा एक्साभेटरका चालक तनहुँ भिमादका २२ वर्षीय कमल थापामगर बेपत्ता भएका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक बुढाका अनुसार डोजरसँगै खोलामा खसेर घाइते भएका सहचालक अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्का १९ वर्षीय सागर पाइजालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । पाइजा पौडिएर खोलाबाट निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् ।

खोलामा डुबेको अवस्थामा एक्साभेटर देखिएको र बेपत्ता चालकको खोजीमा प्रहरी, आयोजनाका कर्मचारी र स्थानीय बासिन्दा परिचालन भएका छन् ।
रासस