८ बैशाख २०८१, शनिबार
Follow Us

संविधान दिवस, मधेसी दलका लागि ‘कालो दिन’

sarusaru
१ आश्विन २०७५, सोमबार ०६:३७

काठमाडौं। संविधान जारी भएको दिन ३ असोजमा मधेसवादी दल कालो दिवस मनाउने तयारीमा जुटेका छन् । संविधान संशोधनको माग गर्दै संघर्षरत राष्ट्रिय जनता पार्टी नेपाल र संघीय सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपाल कालो दिवसको तयारीमा जुटेका हुन् ।

फोरम नेपाल तराई मधेस प्रदेश कमिटीले ३ असोजलाई कालो दिवसका रूपमा मनाउने कार्यक्रम शनिबार सार्वजनिक गरिसकेको छ । यसअघि नै राजपा नेपालले विरोधका विभिन्न कार्यक्रम घोषणा गर्दै पार्टीका शीर्ष नेता एवं प्रदेश २ का मन्त्री परिचालन गरिसकेको छ ।

फोरम नेपाल तराई मधेस कमिटीका अध्यक्ष रेणु यादवले ३ असोजलाई कालो दिवसकै रूपमा मनाउने र सो कार्यक्रममा सहभागी हुन निर्वाचित जनप्रतिनिधिलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएकी छन् ।

प्रदेश २ मा फोरम नेपालकै उपाध्यक्षसमेत रहेका लालबाबु राउत मुख्यमन्त्री छन् । पार्टीको निर्देशन अब उनले पनि मान्नुपर्ने भएको छ । प्रदेश २ बाहेकका प्रदेशका साथै संघीय सरकारले संविधान दिवस मनाउने भव्य तयारी गर्दै गर्दा त्यहाँ कालो दिवस मनाउने गरी तयारी थालिएको हो ।

संघीय सरकारमा फोरम नेपाल सहभागी छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं शिक्षा मन्त्री रहेका छन् । प्रदेश २ मा मुख्यमन्त्री फोरम नेता राउत छन् भने सत्तारुढ दल राजपा नेपालका मन्त्री कालो दिवसको तयारीमा जुटिसकेका छन् ।

फोरम नेपालले ३ असोजमा दिनभरि हातमा कालोपटी बाँध्ने, सार्वजनिक स्थानमा कालो झन्डा झुन्डयाउने निर्णय गरेको छ । फोरमले विरोधका कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ ।

३ असोजमा कालो दिवस मनाउने निर्णय मधेसवादी दलले गरे पनि कार्यक्रम भने फरक रहेको छ । राजपा नेपालले ३ असोजमा सबै जिल्लामा दिउँसो विरोध प्रदर्शनका साथै विरोधसभा गर्ने, सोही दिन साझ ७ देखि सवा ७ बजेसम्म ब्ल्याक आउट (बत्ती निभाउने) लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । यसका साथै राजपाले जिल्ला कमिटीलाई विशेष निर्देशन दिँदै त्यसको तयारीमा जुट्न सर्कुलरसमेत जारी गरिसकेको छ। जिल्लाले विरोधका थप कार्यक्रम आफैं तय गरेर कार्यान्वयन गर्न सक्ने राजपा नेपालका महासचिव अजय गुप्ताले बताए ।

विरोध कार्यक्रमको तयारी, विरोध प्रदर्शन तथा विरोधसभालाई सम्बोधनका लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बारा र पर्सा पुग्नेछन् । अध्यक्ष मण्डलका सदस्यद्वय राजेन्द्र महतो र अनिलकुमार झा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पुग्नेछन् ।
यसैगरी, अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव नवलपरासी, रूपन्देही र कपिलवस्तु, अर्का नेता शरतसिंह भण्डारी झापा, नेता राजकिशोर यादव मोरङ र सुनसरीमा पुग्ने कार्यक्रम तय गरिएको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले प्रदेश २ का मन्त्रीलाई पनि जिल्लामा परिचालन गर्ने निर्णय गरेर त्यसको तयारीमा खटाइसकेको छ ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल सप्तरी, उद्योग, पर्यटन, वन, पर्यावरण तथा संस्कृतिमन्त्री रामनरेश राय सिरहा, सामाजिक विकासमन्त्री नवलकिशोर साह धनुषा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा महोत्तरी, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सर्लाही र उद्योग, पर्यटन, वन, पर्यावरण तथा संस्कृति राज्यमन्त्री सुरेश मण्डललाई रौतहटमा विरोध कार्यक्रमका लागि परिचालन गरिने पार्टीले निर्णय गरेको छ । संविधान संशोधन नभएपछि बाध्य भएर विरोधका कार्यक्रम गर्न लागिएको राजपा नेपालका महासचिव गुप्ताले बताए।

राजधानी दैनिक