११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल र भुटानले भारततर्फ झुकाव राख्दा अनुकूल : भारतीय सेना प्रमुख

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७५, सोमबार ०८:४७

काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावतले भौगोलिक बाध्यताका कारण नेपाल र भुटानले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका छन् । भारतको पुनेमा भएको विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास ‘माइलेक्स१८’ को समापनपछि आयोजित पत्रकारसँगको अन्तक्रियामा सेनाप्रमुख रावतले भूगोलकै कारण यी दुई मुलुक चीनतर्फ ढल्किन नसक्ने दावि गरेका हुन् ।

सैन्य अभ्यासमा नेपाल सहभागी नभएको विषयमा पत्रकारको जिज्ञासमा रावतले नेपाल र भुटानजस्ता मुलुकहरुले भूगोलका कारण स्वाभाविक रुपमा भारतर्फ झुकाव राख्नपर्ने बताएका हुन् । भूगोलका कारण नै चीनतर्फ भन्दा भारततर्फ झुकाव राख्न अनुकूल हुने उनको भनाई थियो ।

सोही कार्यक्रममा भारतीय रक्षा राज्यमन्त्री सुभाष भाम्रेले नेपालमा सैन्य नेतृत्व भर्खरै परिवर्तन भएकाले सैन्य भाग नलिने निर्णयलाई अन्य कोणबाट हेर्न नहुने बताए । काठमाडौंमा सम्पन्न चौथो विमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यासमा नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो ।

साताव्यापी सो सैन्य अभ्यासमा बिमस्टेक सदस्य राष्ट्र नेपाल र थाइल्याण्ड पर्यवेक्षकको रुपमा मात्रै सहभागी भएका थिए । बिमस्टेकका ७ सदस्य राष्ट्रमध्ये भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेशका सैनिकहरू स्थल सैन्य अभ्यासमा सहभागी भएका थिए । भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास भएको हो ।