१५ चैत्र २०८०, बिहीबार
Follow Us

एसिड आक्रमणको शिकार भएका किशोरी जीवन मृत्युको दोसाँधमा

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७५, सोमबार ०८:५२

काठमाडौं । एसिड आक्रमणको सिकार भएका रौतहतका दुई दिदी बहिनी यतिखेर मृत्युसँग संघर्षमा छन् । निर्मला पन्तलाई न्याय देऊ भन्दै देशभरिका नागरिक सडकमा उत्रिरहँदा एसिड आक्रमणबाट घाइते भएर किर्तिपुरस्थित अस्पतालमा उपचार गराइरहेका दुई किशोरीको पक्षमा बोल्दिने मानिस समेत भेटिएको छैन ।

रौतहटको चन्द्रपुर ६ मा भदौ २६ गते एसिड आक्रमणको शिकार भएका दुई दिदीबहिनीको अवस्थामा गम्भिर बन्दै गैरहेको छ । एसिडवाट शरीर जलेकी १८ वर्षिया सम्झना दास र १५ वर्षिया सुस्मीता दास काठमाडौंको किर्तिपुर अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

एसिडले सुन्निएको विभत्स अनुहार ! खुट्टादेखि शरीरसम्म पूरै ब्याण्डेज । नाकदेखि हातसम्म पाइपकै सहारामा छ । सम्झनाको एउटा आखाँबाट पिप बगेको देखिन्छ । अर्को आँखा पूरै बन्द । एसिडले पूरै कुरुप । उनले बोल्नसक्ने अवस्था पनि छैन । छोरीको यस्तो अवस्था देखेर बाबु जादोलाल दास विक्षिप्त छन् ।

सम्झनाको ३५ प्रतिशत भन्दा बढी भाग गहिरोसँग जलेको छ । अर्की छोरी सुस्मिता ओपिडीमा छिन् । उनको भने अवस्था खतरामुक्त छ । सम्झनालाई जे पनि हुनसक्ने चिकित्सक सुरेन्द्र बस्नेतले बताएका छन् ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि अभिभावकले थप उपचारका लागि दुबै जनालाई काठमाडौं ल्याए पनि न्यून आर्थिक अवस्थाले उपचार खर्च जुटाउन समेत समस्या भएको छ । परिवारले उपचारका लागि आर्थिक सहयोगको समेत याचना गरेको छ । अर्कोतर्फ घरमै सुतिरहेको बेलामा राति १२ बजे एसिड आक्रमण भएको पाँच दिन बितिसक्दा पनि प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन । राति घरमै आएर कसले एसिड हानेको भन्नेबारे पीडितका परिवार अनविज्ञ छन् ।