२६ बैशाख २०८१, बुधबार
Follow Us

किन आक्रोसित भए प्रहरी महानिरीक्षक खनाल

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७५, सोमबार ०८:५९

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एकाएक आक्रामक भएका छन् । कन्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको व्यापक विरोध, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ प्रहरीलाई पक्राउ गरेपछि महानिरीक्षक खनाल सामाजिक अपराध बढेको भन्दै प्रहरी अधिकारीहरुसँग आक्रामक भएका हुन् ।

उनले आइतबार नेपाल पुलिस क्लवमा महानगरीय प्रहरी अन्तर्गतका सबै कार्यालयमा प्रमुखहरुलाई जनताको सुरक्षामा अहोरात्र खटिन निर्देशन दिएका हुन् । ‘आँखामा पट्टि बाँधेर बसेका छौं की, कानमा तेल हालेर सुतेका छौं’ उनले निर्देशनको क्रममा भने ‘जनताको शान्ती सुरक्षा सामाजिक अपराध र अपराधीका बारेमा हरहमेसा सर्तक रहनुहोस् ।’

महानगरीय आयुक्त कार्यालयका कामु प्रमुख डिआइजी मनोज नेउपाने देखी प्रहरी बिटका हबल्दार समेतलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । निर्देशनका क्रममा काठमाडौं महानगरीय प्रहरी प्रमुख लामालाई आफू मातहतलाई राम्रोसँग निगरानी नगरेको, कार्यक्षमता प्रस्तुतमा कमी देखिएको भन्दै आईजीपी खनाल आक्रोशित भएका थिए ।

शनिवार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वर र काँडाघारीका दुई प्रहरी साहयक निरक्षकसहित सात प्रहरी जवानलाई घुस रकम सहित पक्राउ गरेको थियो । प्रहरी पक्राउसँगै आईजीपी खनालले कोटेश्वर काँडाघारीको प्रहरी प्रमुखको समेत हेरफर गरीसकेका छन् ।

गलत आचरण भएकालाई संगठनमा ठाउँ नभएको भन्दै आईजीपी खनालले आचरणमा सुधार नआए बर्खास्तको लागी तयार रहन समेत चेतावनी दिएका थिए ।