१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए एशिया–प्यासफिक क्षेत्रीय बैठक डिसेम्बर ८–९ मा हुने

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७५, सोमबार ११:०८

हङकङ — गैर–आवासीय नेपाली संघ (एनआरएनए)को छैठौं एशिया–प्यासफिक क्षेत्रीय बैठक मंसिर २२–२३ (डिसेम्बर ८–९)का दिन हङकङमा हुने भएको छ ।

बैठक सम्बन्धी पत्र क्षेत्रीय संयोजक किरण थापाले हङकङकी अध्यक्ष राधिका गुरुङलाई हस्तान्तरण गरेका छन्। एनआरएनए चीनको विवाद मिलाउने क्रममा ग्वाङझाउ आएका थापाले उक्त पत्र रामादा होटलमा हस्तान्तरण गरेका हुन्।

पत्रमा भर्खरै जापानमा सम्पन्न ‘नेपाल डे’को अवसरमा बैठकको घोषणा भएको उल्लेख गरिएको छ। उक्त बैठकका लागि गठन हुने तयारी समितिमा उक्त क्षेत्रका सबै देशबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य र राष्ट्रिय समन्वय समितिका अध्यक्षहरु सदस्य रहने छन्।

संयोजक थापाका अनुसार प्रत्येक दुई वर्षमा हुने क्षेत्रीय बैठक यो भन्दा अघि थाइल्याण्ड, फिलिपिन्स, मलेसिया, जापान र कोरियामा सम्पन्न भइसकेका छन्। ती देश बाहेक मकाउ, ताइवान, बर्मा, लाओस, बु्रनाइ, कम्बोडिया र सिंगापुरलगायतका देशमा एनआरएन गठन भएका छन्। चीनमा भने गत वर्षको अधिवेशनमा विवाद भएपछि अहिलेसम्म समिति गठन हुन सकेको छैन।