८ बैशाख २०८१, शनिबार
Follow Us

‘अरिङ्गाल’ ले संसदमा हंगामा

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७५, सोमबार १५:०९

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गत शनिबार एउटा सार्वजनिक कार्यक्रममा सरकारको आलोचना गर्नेहरु विरुद्ध ‘अरिङ्गाल बनेर’ जाइलाग्न कार्यकर्तालाई दिएको निर्देशनको संसदमा चर्को आलोचना भएको छ । प्रमुख प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको चर्को आलोचना गरेका छन् भने सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्रीको बचाउ गरेका छन् ।

तत्कालिन माओवादी केन्द्रका नेता स्वर्गीय पोष्टबहादुर बोगटीको स्मृति सभामा शनिबार नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विरोधीलाई अरिंगालले झै झम्टिन आफ्ना पार्टी कार्यकर्तालाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिले सत्तारुढ दलका कार्यकर्ता उत्साहित भएपनि सामाजिक संञ्जाल र आमनागरिकले भने कटू आलोचना गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनको आलोचना सामाजिक संञ्जालमा मात्र सिमित रहेन । सोमबार बसको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदबीच पनि सोही विषयमा चर्काचर्की भयो । बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनता त्रसित र आतंकित भएको भन्दै विपक्षीमाथि हमला गर्न दिएको निर्देशनबारे सदनलाई जवाफ दिन माग गरे ।

सांसदहरु राजेन्द्रकुमार केसी, मिना पाण्डे, मिनाक्षी झालगायतले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यत्तिले राजनीतिक मुठभेड निम्तिने भन्दै अभिव्यक्ति सच्याउन माग गरे । तर,सत्तारुढ दलका सांसदहरुले भने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको बचाउ गरेका छन् । सांसद पम्फा भूसालले अर्कै प्रशंगमा दिइएको अभिव्यक्तिलाई अतिरंजित गर्ने काम भएको आरोप टिप्पणी गरे ।

विशेष समयमा सांसद उमा रेग्मीले शान्तिसुरक्षा कायम गर्न नसक्ने र २ महिनासम्म पनि १३ वर्षिय निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसेकेको भन्दै गृहमन्त्रीको राजीनामा मागिन् । बैठकको शून्य र विशेष समयमा सांसदहरुले सवारी लाईसेन्स वितरणमा भएको ढिलाई ,मुलुकका विभिन्न स्थानमा बाढीपहिरोबाट पीडितलाई क्षतिपूर्ति वितरणमा भईरहेको ढिलाई,भौतिक पूर्वाधार निर्माणमा ठेकेदार कम्पनीले गरिरहेको ढिलाई लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।