१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खेलाडीको परिवारलाई रु सात लाख हस्तान्तरण

sarusaru
२ आश्विन २०७५, मंगलवार ०१:५९

काठमाडौँ – साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बीमा रकम आज हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा भएको १८आँै एशियाली खेलकूदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको बीमा गरेको थियो ।

स्व नारायण पनि एशियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एशियाडमा सहभागी हुनुपूर्व गत जेठ ३० गते श्रीलङ्काको कोदामामा रम्बल इन जङ्गल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनिल गौतमले स्व नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई बीमावापतको रु सात लाख हस्तान्तराण् गर्नुभयो ।

राखेपले एनएलजीसँग गत जेठ २४ गते इन्डोनेसिया एसियाडमा सहभागी हुने सम्पूर्ण नेपाली खेलाडीको एक वर्षका लागि बीमा गरेको थियो । यसअघि राखेपले एनएलजीसँगै भारतमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी खेलाडी र पदाधिकारीको समेत बीमा गरेको थियो ।

गत जेठ ३० गते मृत्यु भएपनि विभिन्न कानूनी प्रक्रिया पूरा गर्दा असार ७ गतेमात्र नारायणको पार्थिव शरीर काठमाडौँ ल्याइएको थियो । ३३ वर्षको उमेरमा मृत्यु भएका नारायणले आफ्नो १२ वर्षको खेल करियरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ सङ्घले जनाएको छ ।

सो अवसरमा सदस्य–सचिव विष्टले खेलाडी नारायणको दुःखद् निधन खेलकूदका लागि पीडादायी दिन भएको बताउँदै परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभयो ।

यसैगरी सोही बीमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल साइक्लिङ सङ्घले स्व. नारायणका परिवारलाई रु एक लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । सङ्घका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्व नारायणकी आमा श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

मनाङ–मस्र्याङ्दीमा प्रशिक्षकमा तापे

मनाङ–मस्र्याङ्दी क्लबले नाइजेरियाका प्रशिक्षक फुजा तापेलाई क्लबमा नियुक्त गरेको छ । यही असोज १३ गतेदेखि शुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई लक्षित गर्दै मनाङले नाइजेरियाका प्रशिक्षकलाई क्लबमा भित्र्याएको जनाएको छ ।

सम्झौताको रकम भने खुलाइएको छैन । मनाङका महासचिव मुखिया लामाले नाइजेरियाका प्रशिक्षकलाई क्लबमा ल्याइएको बताउनुभयो । तापेले सन् २००५ मा काठमाडौँको सरस्वती युथ क्लबलाई प्रशिक्षण दिएका थिए । मनाङले केही दिनअघि अफ्रिकी खेलाडीसमेत क्लबमा ल्याइसकेको छ ।
रासस