१३ बैशाख २०८१, बिहीबार
Follow Us

ओली पहाडिया राष्ट्रवादको प्रवक्ता – कांग्रेस वरिष्ठ नेता पौडेल

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७५, मंगलवार ०८:२७

लन्डन । युरोप भ्रमणमा रहेका नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएको कार्यक्रम कांग्रेसकै नेता र कार्यकर्ताले बहिष्कार गरेका छन् । सोमवार नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको कार्यक्रम पार्टी सभापति शेरबहादुर देउवा निकट नेता र कार्यकताले बहिष्कार गरेका हुन् । बेल्जियमको लुभनमा विपी जयन्तीका अवसरमा ‘लोकतन्त्र, समाजवाद र नेपालको राजनीति’ विषयक बृहत अन्तरक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

नेता पौडेलले आइतबार लग्जेम्वर्गमा बोल्दै पार्टी सभापति देउवाको अपमान गरेको भन्दै सो समुहले पौडेलको कार्यक्रम बहिष्कार गरेको नेपाली जनसम्र्पक समिति युरोपका महामन्त्री गंगाधर गौतमले जनाए ।
यसअघि कार्यक्रम आयोजक नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री सुवास गुरुङले बेल्जियम भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको कार्यक्रम बहिष्कार गर्न जनसम्पर्क समिति बेल्जियमको तर्फबाट परिपत्र गरेका थिए । पार्टी सभापति शेरबहादुर देउवाप्रति पौडेलेले नचाहिदो आरोप लगाएको भन्दै कार्यक्रम बहिष्कार गर्ने आव्हान गरेका थिए ।
विवादका बीच सुरु भएको अन्तरक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली कांग्रेसले विपी कोइरालाको सिद्धान्त विर्सेको भन्ने आरोप गलत भएको तर्क गर्दै भने विपी कोइराला कहिलै पनि राजतन्त्रको पक्षमा थिएनन् । अहिले कांग्रेस गणतन्त्रको पक्षमा लाग्यो भन्दैमा विपीको सिद्धान्त छोडेको भन्न मिल्दैन् ।

उनले नेपालको संविधानले संसारमै नभएको आरक्षणको व्यवस्था गरेको बताउँदै संविधान स्वयमै नेपाली कांग्रेसले बिपीको बाटो नछाडेको प्रमाण भएको बताए ।
वरिष्ठ नेता पौडेलले प्रधामन्त्री केपी ओलीलाई पहाडिया राष्ट्रवादको प्रवक्ता भएको आरोप लगाए । उनले भने ओली चर्को राष्ट्रवादको कुरा गर्ने तर हिमाल पहाड तराईलाई एकताको सूत्रमा बाध्न गम्भीर भएनन् । प्रधानमन्त्री ओलीले मधेसका जनतामाथि अपमानजनक शब्द प्रयोग गरेर भड्काउने र चिढाउने काम गरेको नेता पौडेलको आरोप थियो ।

उनले भने ‘ओलीलाई पहाडिया राष्ट्रवादको प्रवक्ताका रुपमा चिनिन्छ ।’ विपी कोइरालाले भन्ने गरेको समाजवादले निमुखालाई न्याय बिपन्नलाई आय दिने व्यवस्था नै समाजवाद हो, वरिष्ठ नेता पौडेलले भने ।

नेपाली जनसम्पर्क समिति बेल्जियकी सभापति सीता सापकोटाका अध्यक्षतमा सम्पन्न कार्यक्रममा सहभागी हुन युरोपका बिभिन्न देशबाट कांग्रेस कार्यकर्ता बेल्जियम जम्मा भएका थिए ।
यसअघि नेता पौडेलले नेपाली जनसम्पर्क समिति युरोप शाखालाई मान्यता नदिने घोषणा गरेपछि युरोपस्थित विभिन्न देशमा छरिएका जनसम्पर्क समिति आक्रोसित भएका छन् । नेपाली जनम्पर्क समिति युरोप संयोजक दिल गुरुङले आइतवार एक विज्ञप्ति जारी गर्दै नेता पौडेललाई युरोप शाखा विघटन गरेर देखाउन चुनौति दिए ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले समेत नेता पौडेलले पार्टी सभापतिप्रति दिएको अभिव्यक्ति दुखद भन्दै विज्ञप्तिमार्फत खेद व्यक्त गरेका छन् । उनले विज्ञप्तिमा १३ औं महाधिवेशनमा सुविधाजन बहुमतसहित निर्वाचित पार्टी सभापतिलाई प्रजातन्त्रलाई दरवारमा बुझाएको, राष्ट्र र पार्टीमाथि घात गरेको जस्ता अपमानित शव्द प्रयोग गरी पौडेलले सभापतिमाथि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् ।