१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भूकम्पपीडितलाई आवास र अनुदान माग

sarusaru
२ आश्विन २०७५, मंगलवार ११:२३

विराटनगर – प्रदेशसभा सदस्य मोहनकुमार खड्काले ओखलढुङ्गा जिल्लामा भूकम्पबाट पीडित जनताले राहत नपाएकामा गुनासो गर्नुभएको छ ।

प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा उहाँले २०७२ साल वैशाखको भूकम्पबाट पीडित बनेका परिवारजनलाई तत्काल आवास र अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

सदस्य खड्काले आवास र अनुदानमा जुटेका भूकम्प प्राधिकरणका कर्मचारीको लापर्वाहीका कारण तत्काल ध्वस्त भएका घर निर्माण हुन नसकेकाले यसतर्फ केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन प्रदेश सरकारसँग माग गर्नुभयो ।

सदनमा प्रस्ताव

आजको बैठकमा प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सोसम्बन्धी प्रस्ताव राख्नुभएको थियो ।

प्रस्ताव पारित हुनुअघिको छलफलमा प्रदेशसभा सदस्य उषाकला राई, नारायण बुर्जा मगर, उर्मिला विश्वकर्मा, अगमलाल चौधरी र मोहम्मद ताहिर मियाले विधेयक राम्रो भए पनि धेरै संशोधन गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा मन्त्री कार्कीले यो विधेयकलाई कानूनी, व्यावहारिक र सैद्धान्तिक हिसाबले बलियो तथा राम्रो बनाउन छलफलमा आएको सुझावलाई ग्रहण गरिने बताउँदै प्रदेश नं १ लाई विशिष्टीकरण गर्नेतर्फ लैजान र प्रदेशसभालाई व्यवस्थित, मर्यादित एवं वैज्ञानिक बनाउन सो विधेयक कोशेढुङ्गा सावित हुने जिकिर गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही असोज ७ गते अपराह्न १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।
रासस