१५ चैत्र २०८०, बिहीबार
Follow Us

मौलिक हकसम्बन्धि विधेयक राष्ट्रपतिले आजै जारी गर्ने

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७५, मंगलवार १४:४०

काठमाडौं । संघीय संसद सचिवालयले मौलिक हकसम्बन्धि सबै विधेयक विधिसम्मत ढंगले पारित गरेको जानकारी दिएको छ । संविधानले तोकेको सीमाभित्र उक्त विधेयकहरू बन्ने नबन्ने भन्ने अन्योलताकाबीच संघीय संसदले मौलिक हकसम्बन्धि सबै विधेयक पारित गरेको हो ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि कानुन तोकिएकै समय भित्र विधिसम्मत ढंगले पारित गरिएको औंपचारिक जानकारी गराएका हुन् ।

असोज ३ गतेभित्र निर्माण गरिसक्नु पर्ने मौलिक हकसँग सम्बन्धित सबै कानुन निर्माण कार्य विधिसम्मत ढंगले पूरा गरिएको सभामुख महराले बताए । उनले सरकारले केही विधेयक ढिला गरी ल्याएपनि त्यसलाई प्रक्रिया पुर्‍याएरै पारित गरिएको पनि स्पष्ट पारे। भदौं ३१ गतेसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभाले मौलिक हकसँग सम्बन्धित १६ वटा कानुन पारित गरेको थियो ।

सभामुख महराले संघीय संसदबाट पारित सो कानुन राष्ट्रपतिले आजै प्रमाणिकरण गर्ने जानकारी पनि दिए । सदनले पारित गरेका विधेयकमा वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन विधेयक २०७५, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ र सामाजिक सुरक्षा विधेयक २०७५ छन् ।

यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक २०७५, जनस्वास्थ्य विधेयक २०७५, रोजगारीको हकसम्बन्धी विधेयक २०७५, उपभोक्ता संरक्षण विधेयक २०७५, खाद्य अधिकारसम्बन्धी विधेयक २०७५, आवासको अधिकारसम्बन्धी विधेयक २०७५ र भूमिसम्बन्धी सातौँ संशोधन विधेयक २०७५ छन् । अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ र सार्वजानिक सुरक्षासम्बन्धी विधेयक २०७५ रहेका छन् ।

सभामुख महराले मौंलिक हकसँग सम्बन्धित कानुन निर्माणका लागि सहयोग गरेकोमा सरकार, प्रमुख प्रतिपक्ष दललगायतका सबै राजनीतिक दल, संसदीय समितिहरू, संसद सचिवालयका सबै कर्मचारीहरूलाई पनि धन्यवाद दिएका थिए। उनले प्रतिनिधिसभामा ७ वटा र राष्ट्रिय सभामा रहेका ३ वटा विचाराधीन विधेयक पनि १५ दिनभित्र पारित गरी सक्ने योजना पनि सार्वजनिक गरे ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार पारित गर्नुपर्ने विधेयक संसदमा पेश गर्न सरकारलाई ताकेता गरिरहेको बताएका छन् । उनले मौलिक हकसँग सम्बन्धित कानुन निर्माण कार्य पहिलो प्राथमिकतामा भएकाले संसदको वर्षे अधिवेशनमा सो विधेयकलाई उच्च प्राथमिकता दिनु परेको पनि स्पष्ट पारे ।

सरकारले हालसम्म ३२ वटा विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ । ती मध्ये २२ वटा विधेयक पारित गरिएको पनि प्रतिनिधिसभाका सभामुख महराले जानकारी दिए । बाँकी १० वटा विधेयक पनि यही अधिवेशनमा पारित गरिसक्ने संघीय संसद सचिवालयको योजना छ ।