६ चैत्र २०८०, मंगलवार
Follow Us

दिदीको हत्यापछि समाजले मेरो नेतृत्व खोज्यो

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७५, मंगलवार १५:३०

सञ्जु साह, अध्यक्ष, वपरडेक
नेपाली समाजका लागि सञ्जु साह अलराउन्डर हुन् । गैरसरकारी संस्थामार्फत परिवर्तन, खेलकुद र राजनीतिमार्फत उनको करिअर अघि बढ्यो । दाइजोकै कारण दिदीको हत्या भएपछि कानुन पढेर महिलालाई न्याय दिनुपर्छ भन्ने अठोट लिएकी सञ्जु वपरडेक नामक संस्थाकी अध्यक्ष हुन् । समाजले नै उनको नेतृत्व खोज्न थालेपछि सरकारी जागिर हापेर संस्थामार्फत समाज परिवर्तनको अभियानमा होमिएकी हुन् । यिनै परिवेशमा कुमार राउतले सञ्जुसँग गरेको कुराकानी :-

० के हो वपरडेक भनेको ?
– महिला शान्ति अनुसन्धान तथा विकास केन्द्रलाई छोटकरीमा वपरडेक भनिएको हो । यसले विभेदमुक्त समाज निर्माणका लागि शान्ति, न्याय र विकासका क्षेत्रमा काम गर्छ ।

० यसले के काम गर्छ ?
– मानवअधिकारको क्षेत्रमा काम गर्छ । मानवअधिकारको क्षेत्रमा महिला अध्यक्ष भएको पहिलो संस्था पनि हो । ०६२ भदौ २० गते स्थापना गरेका हौं । संक्रमणकालमा सामाजिक सद्भाव कायम राख्नेदेखि लिएर आन्दोलनका बेला पूर्वी तराईका जिल्लामा मानवअधिकारबारे अनुगमन ग¥यौं ।

० संस्था कसरी चलेको छ ?
– मानवअधिकारसम्बन्धी विभिन्न संघ–संस्थामा लामो समय काम गरें । तराईमा पनि मानवअधिकारको क्षेत्रमा काम गर्नुपर्छ भनेर हामीले भान्सामा मुठ्ठी चामल बचत गरेर संस्था स्थापना गरेका हौं । प्रत्येक गृहिणीले मासिक पाँच केजी चालम बचत गरेर संस्था हुर्काएका हौं ।

० अहिलेसम्म के गर्नुभयो ?
– संस्था स्थापना भएलगत्तै हामीले घरदैलो कार्यक्रम ग¥यौं । त्यसबेला ०६२ सालको आन्दोलन चलेको थियो । आन्दोलनमा हामीले बालबालिका र जेष्ठ नागरिकको प्रयोग गर्नुहुँदैन भनेर घरदैलो कार्यक्रम ग¥यौं । माघ २ गतेदेखि सुरु भएको मधेस आन्दोलनमा हामीले जातीय नारा लाग्न नदिने काम ग-यौं ।

० मोरङमा पहाडे र मधेसीबीच द्वन्द्व चर्कियो नि होइन ?
– हामीले सामाजिक सद्भाव बिग्रन नदिन धेरै प्रयास ग¥यौं । हामीले सातजना महिलाको टिम बनाएर काम गरेका थियौं । यस विषयमा हामीले मधेसी, जनजाति र पहाडी समुदायबीच संवाद गरायौं । हाम्रो कामको तत्कालीन प्रमुख जिल्ला अधिकारी मोदराज डोटेलले खुलेर प्रशंसा गरेका थिए ।

० नेपालमा मानवअधिकारसम्बन्धी संस्था धेरै छन् हैन ?
– हो, तर हामीले समयअनुसार मानवअधिकारका विविध आयाममा काम गरेका छौं । जातीय सद्भाव कायम राख्न संवाद गरायौं, द्वन्द्वका बेला मानवअधिकारको ‘वाच’ ग¥यौं । राज्यले अन्यायमा पारेकाहरूको तथ्यांक संकलन ग¥यौं । उनीहरूलाई न्याय दिलाउने प्रयास ग¥यौं ।

० कति रहेछन् द्वन्द्वपीडित ?
– त्यसबेला हामीले ३८७ जनाको तथ्यांक निकाल्यौं । त्यसमध्ये ३४३ जनाको घर भेट्यौं । उनीहरूको हामीले केस स्टडी ग¥यौं । त्यही तथ्यांक बाहिर आएपछि यस क्षेत्रको अनुसन्धान गर्न विजयकान्त कर्ण, प्रशान्त झा, मार्टिन चौतारी, कनकमणि दीक्षित, कृष्ण पहाडीसमेत चासो लिनुभएको थियो ।

० यस्तो काम गर्न कहाँबाट पे्ररणा पाउनुभयो ?
– कानुनी लुज नेटवर्कका रूपमा हामीले काम गरिरहेका थियौं । मार्टिन चौतारी तथा तत्कालीन सिडिओले लिगल प्रोसेसमा जानुहोस् भनेर हामीले २०६५ सालमा औपचारिक रूपमा दर्ता गरेर काम गर्न थाल्यौं ।

० अहिले चाहिँ के गरिराख्नुभएको छ ?
– स्थानीय तहको निर्वाचन नहुञ्जेलसम्म विभिन्न अनुसन्धानको काम ग¥यौं । नगरपालिकाको वडामा नागरिकलाई आफूले पाउने सेवा थाहा हुँदैन । उनीहरूका लागि पनि काम गरिरहेका छौं । यो विषयमा हामीले सीमान्तकृत समुदायलाई तालिम पनि दिएका छौं । मानवअधिकारको डकुमेन्टेसन गरिरहेका छौं । न्यायिक समितिले काम गरेको छ वा छैन, त्यो पनि हेरिरहेका छौं । क्षमता अभिवृद्धि तथा सामाजिक सुरक्षाबारे स्टेक होल्डरसँग संवाद गराउने काम गरिरहेका छौं ।

० सीमान्तकृतहरूका लागि के गर्नुभएको छ ?
– मोरङका चारवटा गाउँपालिका तथा रंगेली नगरपालिकाको तीनवटा वडामा हरूवा चरुवालाई मुक्त गराउने काम गरिएको छ । उनीहरूको समुदायमा सानालाई शिक्षा र ठूलालाई सीप सिकाएर आत्मनिर्भर बनाउँदैछौं ।

० तपाईं मोरङकै बासिन्दा ?
– हो, म किसान परिवारमा जन्मेकी हुँ । हामी ६ दिदीबहिनी हौं । बुवाआमालाई छोराको आशले धेरै दिदीबहिनी जन्मे । हाम्रो मामाघर जोगबनी हो । आमा घुम्टो संस्कृतिमा हुर्किनुभयो ।

० तपाईंहरूको समुदायमा दाइजो समस्या छ, होइन ?
– हो, दाइजोकै कारण मेरी माइली दिदीले ज्यान गुमाउनुप¥यो ।

० घटना सम्झना छ ?
– २०४९ सालमा केटा पक्षको मागबमोजिम पाँच तोल सुन र साइकल दिएर दिदीको विवाह भयो । म त्यसबेला रंगेलीको गल्र्स स्कुलमा ८ कक्षामा पढ्दै थिएँ । हाम्रो परम्पराअनुसार ज्वाइँलाई खिर खान बोलाइयो । मोटरसाइकलबिना ज्वाइँले खिर खान मानेनन् । मोटरसाइकल नपाएपछि मेरी दिदीलाई कुटीकुटी मारेछन् ।

० हत्याको अनुसन्धान भएन ?
– विरामी छ भनेर सुरुमा घरमा खबर गरियो । तर लास जलाउन खोलामा ल्याइसकेको रहेछ । हजुरआमाले मुखियालाई लिएर जानुभयो । हक्की र छोरी भए पनि छोराको स्वभाव भएकाले म पनि गएँ । भाइ सानै थियो, बाबाले केही गर्न सक्नुभएन ।

० कत्ति अध्ययन गर्नुभएको छ ?
– दुईवटा विषयमा डिग्री लिएकी छु । अर्थशास्त्र र आरडीमा डिग्री लिएको हुँ । कानुनमा स्नातक गरेकी छु । अध्ययनको साथै खेलकुदमा पनि संलग्न थिएँ । तीनवटा खेलको राष्ट्रिय खेलाडी पनि हुँ ।

० पढाइ कस्तो थियो ?
– स्कुलमा ट्यालेन्ट थिएँ । कलेजमा परिक्षाको अघिल्लो रात पढ्थें । ९ कक्षा पढ्दादेखि नै इन्सेकमा जागिर खान्थें । विद्यार्थी राजनीतिमा पनि थिएँ । जीवन घिमिरे, चुडामणि आचार्य सरले पढ्न पे्ररणा दिनुहुन्थ्यो ।

० सरकारी जागिर खानुभएन ?
– लोकसेवामा नाम निकालेकी थिएँ । जिल्ला विकासमा मेरो पोस्टिङ थियो । तर त्यही क्रममा एसएन झा तथा तत्कालीन सिडिओसँग भेट भयो । उहाँहरूले आफै नेतृत्वमा आउनुपर्छ भन्नुभयो । त्यसैले जागिरबाट राजीनामा दिएँ ।

० अहिले कत्तिलाई जागिर दिनुभएको छ ?
– डेढ सयजति परिचालित छन् । त्यसमध्ये २७ जना कर्मचारी छन् । झापादेखि सप्तरीसम्म हाम्रो कार्यक्षेत्र हो ।

० विवाह गर्नुभयो ?
– विवाह गर्ने मेरो योजना थिएन, तर पछि विवाह गरें । आफ्नै जातिसँग विवाह गरेकी हुँ । अहिले एक छोरा, एक छोरी छन् । छोरी ५ कक्षामा पढ्दै छिन् भने छोरा २ मा ।

० दाइजो कति लेनदेन भयो ?
– दाइजो लेनदेन नगर्ने सर्तमा विवाह गरेकी हुँ । सुमन प्याकुरेलले हाम्रो विवाह जुराइदिनुभएको हो ।

० अहिले कस्तो छ दाम्पत्य जीवन ?
– बाँकी अर्को अन्तर्वार्तामा भनौंला ।