१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महिला सङ्घमा १३३ को उम्मेदवारी

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७३, बिहीबार १४:०३

काठमाडौं । नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले आज एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गरेकोमा अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा १२६ गरी १३३ को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

सङ्घको विधानअनुसार अध्यक्ष एक, महासचिव एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य २२, सात प्रदेशबाट २१, दलित तीन, जनजाति तीन, मधेसी तीन र मुस्लिम एक पदमा निर्वाचन हुँदैछ ।

आज चार बजेदेखि बेलुकी आठ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ८ बजेर १५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको समिति संयोजक यदुनाथ खनालले राससलाई जानकारी दिनुभयो ।

दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनमा मीना पाण्डे र उमा रेग्मीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । महासचिवमा किरणकुमारी सरकार, गोमा केसी र धन खतिवडाको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्षमा जानकीदेवी सिंह र कुसुमदेवी थापा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

महाधिवेशनमा दुई हजार १६५ प्रतिनिधिले भाग लिएका छन् । दश जना महाधिवेशन प्रतिनिधिले विभिन्न देशबाट प्रतिनिधित्व गरी भाग लिनुभएको छ ।

‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनमा शुक्रबार बिहान ९ः३० बजेदेखि २ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ । महाधिवेशनमा प्रान्तीय संरचनाअनुसार ५६ सदस्यका लागि निर्वाचन हुनेछ । विद्युतीय मतदान यन्त्रबाट मतदान हुने भएकाले शुक्रबार बेलुकी नै मत परिणाम सार्वजनिक हुने समितिले जनाएको छ ।

विसं २००४ साउन २४ गते स्थापना भएको सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो ।

स्व मङ्गलादेवी सिंह सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्छ भने त्यसपछि कान्तासिंह श्रेष्ठ, मीना पाण्डे, उमा रेग्मी, अम्बिका बस्नेत अध्यक्ष भइसक्नुभएको छ । हाल डा डीला सङ्ग्रौला सङ्घका अध्यक्ष हुनुहुन्छ ।