१५ चैत्र २०८०, बिहीबार
Follow Us

आरोपी एसपी खनाल पनि छुटे : सुन तस्करी प्रकरण

sarusaru
३ आश्विन २०७५, बुधबार ०४:३८

मोरङ। सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा कारागारमा रहेका निलम्बित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरले मंगलबार खनाललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीले २८ जेठमा जिल्ला अदालत मोरङले गरेको आदेश उल्टाउँदै साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिँदा साधारण तारेखमा राखी मुद्दाको कारबाही अगाडि बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिस्ट्रार नारायण रेग्मीले जानकारी दिए । मुलुकी ऐन अदालती बन्दोबस्तीको ४७ नम्बर बमोजिम साधारण तारेखमा छोड्न खनाललाई आदेश दिएको उनले बताए ।

खनालले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै तारेखमा छोड्न माग राख्दै ७ असारमा निवेदन दिएका थिए । खनाल पक्राउ पर्नुअघि मकवानपुर प्रहरी प्रमुख थिए । ७ माघमा यूएईबाट आएको साढे ३३ किलो सुनका मालिक गोरे भनिने चूडामणि उप्रेतीसँग प्रहरी अधिकारीको सम्बन्ध रहेको देखिएपछि उनीहरू पक्राउ परेका थिए ।

यस प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितिले उनलाई बयानका लागि बोलाएको थियो । उनलाई बयानपछि पक्राउ पुर्जी थमाइएको थियो ।

यसअघि निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसीलाई समेत उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सुनकाण्डमा पछिल्लो समय उच्च अदालतमा चढेको पेसीको सुनवाइ हुँदै प्रहरी अधिकारीहरू एकपछि अर्को गर्दै साधारण तारेखमा छुट्दै आएका छन् ।
राजधानी दैनिक