१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए युके काउन्सिल बैठकमा २ सय संघसंस्थालाई निम्तो, उपाध्यक्ष कुमार पन्त आउने

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७५, बुधबार ०७:३७

लन्डन । गैरआवासीय नेपाली संघको युकेको पाँचौ काउन्सिल बैठकमा २ सयभन्दा बढी संघसंस्थालाई आमन्त्रण गरिएको छ । बैठक संयोजक तथा एनआरएन युकेकी उपाध्यक्ष पुनम गुरुङका अनुसार बेलायतस्थित अधिकांश नेपाली सामाजिक संस्थालाई इमेलमार्फत् निम्तो पठाएको छ ।

यही सेप्टेम्बर २९, शनिवार, अल्डरशटस्थित एम्पायर हलमा आयोजना हुने काउन्सिल बैठकको विशेष अथितिका रुपमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त बेलायत आउने भएको एनआरएन युकेले जनाएको छ ।

बैठक सफल पार्न एनआरएन युकेले गुरुङको संयोजकत्वमा उपसमितिसमेत गठन गरेको छ । समितिको सदस्य सचिवमा रोहित गुरुङ, सदस्यमा मिलन गुरुङ, महादेव श्रेष्ठ, ज्योस्ना बस्नेतलगायत छन् । समितिको सल्लाहकारमा जीव बेलवासे, डा. चन्द्र लक्छम्वा, भक्त गुरुङ, अध्यक्ष योगकुमार फगामी र महासचिव राजकुमार त्रिपाठी रहेका छन् ।

बैठकमा गैरआवासीय नेपाली संघ युकेले गतवर्ष गरेका वार्षिक गतिविधिको समीक्षा हुनुका साथै गैरआवासीय नेपाली संघको मुद्दाको बारेमा छलफल केन्द्रीत हुने संयोजक गुरुङले जानकारी दिइन ।

नेपाली नागरिकताको निरन्तरता, भूतपूर्व गोर्खा आन्दोलन, स्किल ट्रान्स्फर, बेलायतमा नेपाली समुदायबीचको जनगणनालगायतका विषयमा बैठक केन्द्रीत रहने संयोजक गुरुङले बताइन् ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार तथा विज्ञ सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्मा, विभिन्न संघसंस्थाका अध्यक्ष र महासचिवलगायत संघसंस्थाका प्रतिनिधि, बुद्धिजीबी र सञ्चारकर्मीलगायतको उपस्थित रहने अपेक्षा गरिएको छ ।

सन् २००५ को सेप्टेम्वर महिनामा स्थापित गैरआवासीय नेपाली संघ युकेले तत्कालीन अध्यक्ष सूर्य गुरुङको कार्यकालदेखि बेलायतस्थित नेपाली संघसंस्थासँग परामर्श गर्ने उद्देश्यले काउन्सिल बैठक गर्दै आएको छ ।