१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाली कांग्रेसका सांसद कँडेल भारतको क्याम्पसको अध्यक्ष

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७५, बिहीबार ०९:००

नवलपरासी । नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा निर्वाचित हुनुभएको छ ।

कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) मा निर्वाचित हुनुभएको हो ।

यसअघि इन्टर कलेजका व्यवस्थापन समिति अध्यक्ष (प्रबन्धक) मा सांसद कँडेलकै हजुरआमा स्व राधाकुमारी कँडेल र बुबा स्व पृथ्वीराज कँडेल रहनुभएको थियो । पछिल्लो पटक करीब १० वर्ष रिक्त रहेको अध्यक्ष (प्रबन्धक) मा सांसद कँडेल निर्वाचित हुनुभएको हो । ठुठीबारीग्राम पञ्चायतका प्रधान राजेश सिंहलाई निर्वाचनमा पछि पार्दै कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) हुनुभएको छ ।

महाराजगञ्ज जिल्लाको मुख्य बजार महाराजगञ्जमा बुधबार भएको निर्वाचनबाट कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) हुनुभएको हो ।

सन् १९५२ सालमा विद्यालय स्थापना भएको सो कलेज नेपाल भारत सीमा क्षेत्रमा निकै प्रख्यात मानिन्छ । नवनिर्वाचित प्रबन्धक कँडेलले कलेजको शैक्षिक गुणस्तर सुधार गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जम्मा १० मत रहेको यस कलेजको व्यवस्थापन समितिमा कँडेलले छ मत प्राप्त गर्नुभएको थियो भने अर्को प्रतिस्पर्धी उम्मेदवार सिंहले चार मत प्राप्त गर्नुभएको थियो ।