४ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई खुल्लापत्र

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७५, बिहीबार १४:००

आदरणीय दाई रामचन्द्र पौडेल ज्यु
जय नेपाल,

आम निर्वाचनमा नेपाली कांग्रेसले भोगेको पराजयपछि युरोप भ्रमणमा आउने तपाई पहिलो वरिष्ठ नेता हुनुहुन्छ । देशमा जस्तै विश्वभरि छरिएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा केही निराशा छ । गत हप्तादेखि तपाईको युरोप भ्रमणपछि यहाँस्थित नेपाली कांग्रेसका कार्यकर्तामा आशाको किरण देखिएला भन्ने आशामा थिए ।

२०४६ सालको जनआन्दोलनको क्रममा मेरो आफ्नै जिल्लामा तपाईलाई बाग्लुङ प्रहरीले जेल हालेको अझै झलझली मनमा आउँछ । तपाई पार्टीभित्रको आर्दश पुरुष र एक अभिभावको रुपमा लिएको थिएँ ।

सन् २००० सालसम्म तपाईजस्तै देशको सुन्दर भविष्य निर्माण गर्ने सपनासहित नेपाली कांग्रेसको सक्रिय राजनीतिमा थिएँ । बाग्लुङ जिल्लाको नेपाल विद्यार्थी संघको २ कार्यकाल अध्यक्ष, धवलागिरी बहुमुखी क्याम्पस मा ४ बर्ष सभापति र दुई कार्यकाल स्ववियू, फोरम केन्द्रीय सदस्यमा रहेर आफ्नो जिम्मेवारी पूरा गरेको यहाँलाई स्मरण गराउन चाहन्छु । देशमा भएको चरम द्वन्द्वका कारण गाउँ बस्ने अवस्था थिएन् । विदेश भित्रिएँ । तर देश छोडे पनि नेपाली कांग्रेसको सिद्धान्त र आर्दश र क्रियाशीलता भने छोडेको छैन ।

पार्टी र संस्थाका वैधानिक निर्णयलाई कहिल्यै चुनौति दिने प्रयास त के सोच्न पनि सकेको छैन् । तर नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालको परिपत्रबाट तत्कालीन विदेश विभाग प्रमुख सुजाता कोइरालाबाट स्थापित वर्तमान सभापति शेरबहादुर देउवा तत्कालीन वरिष्ठ नेताबाट प्रथम अधिवेशन सम्पन्न भइसकेको नेपाली जनसम्पर्क समिति युरोप शाखाप्रति तपाईले देखाउनु भएको रवैयाले युरोपस्थित नेपाली कांग्रेसजनको मन दुःखेको पक्कै छ ।

यो संस्था स्थापना कालदेखि हालसम्म तपाई पार्टीभित्रकै वरिष्ठ नेताको रुपमा हुनुुहुन्थ्यो । नेपाली जनसम्पर्क समिति युरोपको आयोजनामा तपाई समेत पटकपटक उपस्थित भएर कार्यक्रम गर्दै आउनु भएको त विधितै होला । ती सबै पार्टीमा दस्तावेजमा सुरक्षित छन् । तर अहिले युरोप भ्रमणले त्यस्तै के मन्त्र दियो तपाईलाई र युरोप कांग्रेस होइन् र छैन भन्दै हिड्नु भयो ?

विदेशी भूमिमा आयोजित कार्यक्रममा पार्टीका आन्तरिक विषयलाई छताछुल्ल पार्दै बोल्ने नेपाली कांग्रेस केन्द्रिय समितिका निर्णय र परिपत्रलाई आफू नमान्ने र कार्यकर्तालाई नमान्न दबाब दिने केन्द्रीय पार्टी सभापतिमाथि खुल्ला कार्यक्रममा संगीन आरोप लगाउने यहाँको शैलीले तपाईको मान प्रतिष्ठा घटेको मात्र होइन् म जस्ता हजारौं कार्यकर्ताको शिर झुकेको छ ।
गत आइतवार लक्जम्वर्गमा सुरु भएको नेपाली जनसम्पर्क समितिको पहिलो अधिवेशनको आधिकारिक प्रतिनिधिको रुपमा नेपाली कांग्रेसले मलाई तोकेको हो ।

तपाईलाई प्रमुख अतिथिको रुपमा बोलाइएको हो । तर पार्टीको परम्परा र तपाईको आफ्नै आर्दशलाई समेत कुल्चेर पार्टीको पत्रलाई बेवास्था गर्दै मलाई केन्द्रीय प्रतिनिधि तपाईले स्वीकार गर्नु भएन् ।
दाई,
मजस्तो विदेशिएको सानो कार्यकतासँग तपाई जुहारी खेल्न मैदानमा उत्रिनु भयो । यस्तो कार्यले तपाईको प्रतिष्ठा अवश्य बढ्दैन् । तपाईमाथि सानो चित्त ९परेवाको जत्रो छाती० भएको नेताको आरोप नलागेको पनि होइन्, त्यसलाई युरोपमा आएर आफैं प्रमाणित गर्नु भयो । पार्टीको पद्धति मिचेर, आफ्नो गुटभित्रका केही सीमित मान्छेको कुरामा रमाइएर युरोपमा विगत ११ बर्षदेखि सक्रिय पार्टी संगठनलाई निस्तेज पार्ने सुझाव कस्ले दियो तपाईलाई ?

यो कुनै व्यक्तिको आकंक्षा पूरा गर्न बनेको संस्था होइन् । नेपाली कांग्रेसले आवश्यकता ठानेर स्थापना गरिएको पार्टीको फोरम हो । नेपाली जनसम्पर्क समिति युरोपको सकृयता र मेहनतबाट मात्रै युरोपमा करिब दुई दर्जन देशमा नेपाली कांग्रेसको संगठन नेपाली जनम्पर्क समिति गठन भएका हुन् सोसलिस्ट इन्टरनेसनलमा प्रतिनिधित्व गर्नेदेखि आवश्यकतामा आर्थिक लेबी समेत यही संस्थामार्फत बुझाइएको छ ।

नेपाली कांग्रेस को १२औ र १३औं महाधिवेशनको बन्द सत्रमा मन्तव्य राख्ने र प्रतिबेदन समेत स्वयम् मबाटै महामन्त्रीको हैसियतले बुझाइएको समेत स्मरण गराउन चाहन्छु । जुन–जुन देशमा तपाईले अहिले आतिथ्यता पाउनु भएको छ ती देशमा बनेका जनसम्पर्क समिति यही युरोप समन्वय समितिको सकृतामा बनेका हुन् ।
आदरणीय दाई,
अल्ली ठूलो चित्त बनाउनु होस् । सबैको नेता बन्नुहोस् । बेल्जियममा आयोजित नेपाली जनम्पर्क समितिको अन्तरकृया कार्यक्रममा आएर तपाईका कुरा सुन्ने रहर थियो तर, मजस्ता सयौ कार्यकर्ताको मन दुखाउनु भयो । फलस्वरुपमा हल पूरै खालीजस्तै हुन पुग्यो । दुःखी छु दाई । तपाईलाई नेपाली जनम्पर्क समिति युरोपको अतित्व स्वीकार गर्नुनै थिएन् भने अल्ली दरो मुटु बनाएर सभापति शेरबहादुर देउवा वा पार्टीको केन्द्रीय समितिमा किन बोल्नु भएन् ।

यो संस्था आज फेसबुकबाट घोषणा गरेर बनेको होइन् । तपाई कहाँ हुन्थ्यो ११ वर्षसम्म भनेर सोध्ने कार्यकर्ता पनि छन् । सधै आर्दश र सिद्धान्तको कुरा गर्ने व्यक्तिको छाती फराकिलो हुनुपर्छ । उमेरसँगै नेपाली कांग्रेसको सकृय राजनीति गर्ने दिनप्रति दिन घट्दै छन् । अब यो बेला सकेसम्म नाम कमाउने, जीवन भर दुःख गरेर बनाएका साथिभाइ, तथा कार्यकर्ताको मन जितेर बस्ने बेला हो । सकेसम्म एकजना बढी मलामी बढाउन कोसिस गर्ने समय हो ।

तपाईंलाई नेपाली कांग्रेसको १४औं महाधिवेशन चासो पनि सुरु भए होला । त्यसैले लाग्दो हो अर्को समूहलाई सिध्याउनु पर्छ । तपाईका वरिपरिले पनि त्यही सुझाएका होला । त्यो सबै भ्रम हो । जीवनभरि दुःख गरेर कमाएको रामचन्द्र पौडेलका आर्दशलाई बचाई राख्नुहोस् । आफु सकिने बाटो होइन् गन्तव्यमा पुग्नेतिर लाग्नुहोस् । युरोप भ्रमणलाई सहज बनाउदै समय छोट्टाउदै नेपाल फिर्ता हुनुहोला । यात्राको पूर्ण सफलताको कामना गर्दछु ।

नेपाली जनसम्पर्क समिति युरोपको आगामी दोस्रो अधिवेशन पार्टी सभापति पार्टी उपसभापति र महामन्त्रीज्यू लगायत दर्जनौ केन्द्रिय नेताहरुको समुपस्थितिमा आयोजना हुने हुँदा तपाईलाई समेत अतिथिको रुपमा यसै पत्रमार्फत निमन्त्रणा गर्दछु ।

गंगा धर गौतम
केन्द्रिय प्रतिनिधि प्रथम अधिबेशन नेपाली जनसम्पर्क समिती लक्स्जम्बर्ग,
पुर्ब सभापति जनसम्पर्क समिति बेल्जियम
तथा
महामन्त्री नेपाली जनसम्पर्क समन्वय समिति युरोप