६ बैशाख २०८१, बिहीबार
Follow Us

रातारात बनाएका सडक एक महिना नपुग्दै भत्कियो

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७५, बिहीबार १४:५०

काठमाडौं । काठमाडौँमा भदौ १४ र १५ मा भएको चौथो बिमस्टेक सम्मेलनका लागि रातारात सडकका खाल्डा–खुल्डी पुरिए । हतार–हतार कालोपत्रेदेखिरंगरोगन गरी चिटिक्क पनि बनाइए । तर, पाहुँनालाई स्वागत गर्न बनाइएका सडक एक महिना नपुग्दै भत्किएका छन् ।

असारको झरीमा पनि बजेट सक्न हतार–हतार टालटुले काम गरियो । त्यस लगत्तै पुनः बिमस्टेक सम्मेलनको तयारीका लागि भन्दै राजधानीका सडक टालटुल मात्र गरिएन रङ रोगन गरी चिटिक्क बनाइयो । बर्षोसम्म बन्न नसकेको सडक पेटी पनि रातारात बने । तर, तामझामका लागि बनाइएका सडक एक महिना नपुग्दै पूरानै खाल्डाखुल्डीमा परिणत भएका छन् ।

पाहुँनाकै लागि गरिएको तामझामलाई उतिबेला नै कुनै सर्वसाधारणले रुचाएका थिएनन् । सडक बिभागले गरिएको बिकास दिगो हुने समेत दाबी गरेको थियो । यतिबेला सडक खाल्डाखुल्डी नै परेपछि भने बिभाग खानेपानीको पाइपको कारण समस्या आएको भनी पन्छिन खोज्छ ।

निश्चित समयावधि नतोकि स्वागतकै लागि त्रिपुरेश्वर, बानेश्वर, महाराजगञ्ज चावहिल लगायतका बिमस्टेक सम्मेलनमा सहभागि राष्ट्र प्रमुखहरुको आवात–जावत हुने मुख्य सडकखण्ड टालटुलगरिएको थियो । ती सडकमा गरिएको टालटुल यतिबेला भने यस्तो देखियो ।

सरकारी निकाय विचको समन्वयको अभावदेखि असारे विकास र बिभिन्न अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्दा गरिने देखावटी गरिनेविकासले निरन्तरता पाउँदा सर्वसाधारणले सुविधा कम सास्ती बढी पाइरहेका छन् ।