१५ चैत्र २०८०, बिहीबार
Follow Us

साइबर अपराधः राज्यभन्दा बलिया अपराधी

sarusaru
५ आश्विन २०७५, शुक्रबार ०४:५८

काठमाडौँ। बढ्दो कम्प्युटर र इन्टरनेटको प्रयोगसँगै नेपालमा पनि साइबर अपराध दिनानुदिन बढ्दै गइरहेको छ। मानिसहरूले इलेक्ट्रोनिक प्रविधिको दुरुपयोग गर्न थालेपछी यसले अपराधको ठूलै रुप लिन थालेको हो।

साइबर अपराधमा सामाजिक सञ्जालको माध्यमबाट पनि विभिन्न किसिमका अपराधहरू बढ्दै गएका छन्। मानिसलाई इमेल मार्फत धम्की दिने, सफ्टवेयर पाइरेसी (प्रतिलिपि सफ्टवेयर) बनाएर सस्तोमा बिक्री गर्ने तथा सफ्टवेयरबाट अरुको कम्प्युटरमा घुसपैठ गर्ने तथा सफ्टवेयर बनाएर अरुको कम्प्युटर ह्याक गर्ने, अरुको गोप्य कुरा थाहा पाएर फाइल चोर्ने बैंक अकाउण्टको ब्यालेन्स चोर्ने, एटिएम ह्याकजस्ता थुप्रै साइबर अपराध बढ्दै गएको र यस्ता अपराध सम्बन्धी उजुरीहरू पनि बढ्दै गइरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ। अरुका गोप्य सूचना र सामग्री हत्याएर ब्ल्याकमेल गर्ने, असुली गर्ने र दुःख दिने घटनाहरू पनि बढेका छन्।

अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले पहिलेका दिनमा भन्दा झन्झन् साइबर अपराधका उजुरीहरु बढ्दै गरेको बताए। साइबर अपराध गर्ने व्यक्तिलाई छानविन गरी विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्दै आएको समेत उनले जानकारी दिए।

सूचना प्रविधिको बढ्दो उपयोगसँगै अपराधका नयाँनौला शैली भित्रिएका छन्, जुन साविक सुरक्षा संयन्त्रका लागि ठूलो चुनौती बनेर उभिएको छ

साइबर अपराध हेर्नका लागि अपराध महाशाखाले साइबर अपराध शाखा नै गठन गरेको छ। साइबर सम्बन्धी अपराधका थुप्रै उजुरी आउन थालेपछी अपराध महाशाखाले २०७१ सालदेखि यस अपराधलाई छुट्टै अपराधका रुपमा हेर्न थालेको अपराध महाशाखाले जनाएको छ। २०७१/०७२ देखि २०७४/०७५ सम्म तीन वर्षको साइबर अपराध सम्बन्धी उजुरीको तथ्याङ्क हेर्दा साइबर अपराध हरेक वर्ष बढ्दै गएको तथ्याङ्कमा उल्लेख छ।

२०७१/०७२ को तथ्याङ्कमा ३ सय ५ वटा साइबर अपराध सम्बन्धी उजुरी परेका थिए। २०७२/०७३ मा ८ सय ३० वटा साइबर अपराधका उजुरी परेका थिए। त्यसैगरी २०७३/०७४ को तथ्याङ्कमा १ हजार १ सय ९७ वटा उजुरी परेका र २०७४/०७५ सम्ममा अपराध झनै बढ्दै गइरहेको अपराध महाशाखाको तथ्याङ्कले देखाएको छ। यस आर्थिक वर्षमा १४ सय भन्दाबढी साइबर अपराधका उजुरीहरू दर्ता भइसकेका छन्। हरेक वर्ष साइबर अपराध बढ्दो क्रममा छ । अपराधी पत्ता लगाउन निकै कठिन प्रकृया अवलम्बन गर्नुपर्ने समेत अपराध महाशाखाले जनाएको छ।

अपराधमा संलग्नहरुभन्दा अब्बल संयन्त्र र जनशक्ति त्यसको नियन्त्रणका लागि चाहिन्छ। सुरक्षा संयन्त्रको स्तरोन्नत गर्नेतर्फ प्रयाप्त ध्यान र लगानी नपुग्दा अपराधीहरु राज्यसंयन्त्रभन्दा बलियो भएर थप चुनौती बढ्दै गएको यथार्थलाई नजरअन्दाज गर्न सकिदैन।

सूचना प्रविधिको बढ्दो उपयोगसँगै अपराधका नयाँनौला शैली भित्रिएका छन्, जुन साविक सुरक्षा संयन्त्रका लागि ठूलो चुनौती बनेर उभिएको छ।

अपराधीहरु राज्यका सत्रु हुन्। राज्यभन्दा सत्रु बलिया भएभने अवश्य पनि राज्यले अराजक प्रवृत्ति, हिंसा र सामाजिक विश्रृङ्खलता व्यहोर्नुपर्ने हुन्छ। त्यसैले प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादन र समयको माग अनुसारको तयारी एवं रणनीति राज्यले अपनाउनु अनिवार्य हुन्छ।

यसो गरेर मात्र अपराधलाई उछिनेर शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षा प्रबन्ध मिलाउन राज्यका लागि संभव हुनेछ। अन्यथा अपराधी बलिया हुने र राज्य कमजोर हुने अवस्थाले अपराधको बढ्दो क्रमलाई नियन्त्रण गर्न संभव हुनेछैन।

साइबर अपराध बढेको तथ्याङ्कले प्रष्ट संकेत गरेको छ–राज्यभन्दा अपराधी बलिया हुँदै गएका छन्। त्यसैले त साइबर अपराधमा राज्यको नियन्त्रण बर्ष दर बर्ष खस्किदै गएको तथ्याङ्क साक्षी छ।
रासस