१५ चैत्र २०८०, बिहीबार
Follow Us

दशैंको अग्रिम टिकट बुकिङ खुलेन

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७५, शुक्रबार ०७:४२

काठमाडौं । यातायात व्यवसायीले आजदेखि खोल्ने भनेको दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो ।

नेपाल आयल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ । यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।

आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर आजदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनु भयो ।

महासंघको हिजो बसेको आकस्मिक बैठकले सरकारले बढेको तेलको मूल्य फिर्ता नलिएकाले टिकट बुकिङ नगर्ने निर्णय गरेको हो ।

सरकार सबैप्रति उत्तरदायी हुनु पर्ने भन्दै पछि कुनै समस्या भए सरकारकै कारण हुने तर्क महासचिव सिटौलाले गर्नु भएको छ । सरकार र यातायात व्यवसायीको बारम्बारको झगडाका कारण यो दशैंमा पनि घर जानेले समस्या झेल्नु पर्ने देखिएको छ ।