१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विधान परिमार्जन गर्न काँग्रेसले सातै प्रदेशमा राय लिने

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७५, शुक्रबार १०:५२

काठमाडौं । नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो ।

काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सङ्घीय सांसद, प्रदेश सांसद र भ्रातृ संस्थाका प्रमुखको राय तथा सुझाव लिन लागेको हो । प्रदेश ६ र ७ को एक÷एक स्थान र अरु प्रदेशको दुई÷दुई स्थानबाट राय सङ्कलन गर्न लागिएको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

प्रदेश–१ को इलाम र विराटनगर, प्रदेश–२ जनकपुर र वीरगञ्ज, प्रदेश–३ काठमाडौँ र काभ्रेपलाञ्चोक, प्रदेश–४ पोखरा र बागलुङ, प्रदेश–५ दाङ र बुटवल, प्रदेश–६ सुर्खेत र प्रदेश–७ को कैलालीमा राय सङ्कलन गरिनेछ । समितिले सबै प्रदेशबाट राय सङ्कलन गर्नका लागि दुई÷दुई जना सदस्य खटाएको छ ।

प्रदेश–१ नवीन्द्रराज जोशी, आनन्दप्रसाद ढुङ्गाना, प्रदेश–२ डा मीनेन्द्र रिजाल र महालक्ष्मी उपाध्याय ‘डिना’, प्रदेश–३ दिलेन्द्रप्रसाद बडू र सीता गुरुङ, प्रदेश–४ फरमुल्लाह मन्सुर र अमरसिंह पुन, प्रदेश–५ रमेश लेखक र मदनबहादुर अमात्य, प्रदेश ६ र ७ मा भने मानबहादुर विश्वकर्मा र प्रदीप पौडेललाई खटाइएको छ ।

खटिएका सदस्यले यही असोज ८ देखि १३ गतेसम्म सबै प्रदेशको सुझाव सङ्कलन गरिसक्ने र सङ्कलन गरिएको राय सुझावलाई समावेश गरेर दशैँ अगाडि नै मस्यौदालाई अन्तिमरुप दिने गृहकार्य भइरहेको समितिका संयोजक खड्काले जानकारी दिनुभयो ।

संशोधित विधानलाई दशैँ र तिहारको बीचमा केन्द्रीय समितिमा बुझाउने तयारी समेत भइरहेको छ । केन्द्रीय समितिले विधानको बारेमा छलफल गरी मङ्सिरमा हुने महासमिति बैठकमा राख्नेछ । संविधानले दिएको अधिकारअनुसार पार्टीको विधानलाई लैजानका लागि काँग्रेसले महिलाको अधिकारलाई समेत स्थानीय तहदेखि केन्द्रसम्म ३३ प्रतिशत बनाउन लागेको छ ।

काँग्रेसले गाउँ टोल समिति, वडासमिति, पालिका समिति, प्रदेश क्षेत्र समिति, सङ्घीय निर्वाचन क्षेत्र समिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ समिति रहने गरी विधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।

समितिको बैठकमा पूरै पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने विषयमा सबैको सहमति जुटेपनि कति सदस्य बनाउने भन्ने बारेमा भने अझै टुङ्गो लागेको छैन । हाल काँग्रेसमा छ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

युवालाई पार्टीभित्र आकर्षित गर्नका लागि महाधिवेशन प्रतिनिधिमा २५ वर्षमुनिका १५ प्रतिशत युवालाई समेट्नुपर्ने विषयमा समेत समितिमा छलफल भइरहेको छ । सदस्यता वितरणका सवालमा पनि बैठकमा फरक-फरक धारणा आएका छन् ।

केही सदस्यले साधारण, क्रियाशील, विशेष हुँदै सम्मानित सदस्य बनाउनुपर्ने कुरा उठाइरहँदा केही सदस्यले भने निर्वाचनको मुखमा बाहेक अरु जुनसुकै बेला पनि सदस्यता लिन सकिने गरी विधान संशोधन गर्नुपर्ने बताएका छन् ।
– अच्युत रेग्मी