२६ बैशाख २०८१, बुधबार
Follow Us

सातौं बिग आइकन गुरुङ लण्डनमा

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७५, शुक्रबार २०:३०

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफएमका अध्यक्ष महेश भण्डारीसंगै शुक्रबार लण्डन उत्रिएका हुन् ।

युरोपको नेपालीपत्रको निमन्त्रणा तथा द ब्रिटिश कलेजको व्यवस्थापनमा बिग आइकन सुबास बेलायत आएका हुन् । नेपालीपत्रकै निमन्त्रणामा यसअघि बिग आइकनको चौंथो संस्करणका विजेता मुस्कान रानाभाट र छैटौं बिग आइकन विजेता साजन आलेले पनि बेलायत आएर कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
बेलायतको झण्डै २ साता लामो बसाइका क्रममा बिग आइकन सुबासले यहांका विभिन्न ठाउंमा कार्यक्रमहरु गर्नेछन् ।

यहि शनिबार सेप्टेम्बर २२ मा उनको पहिलो कार्यक्रम साउथ ह्यारोस्थित माया पबमा हुंदैछ । अर्को शनिबार सेप्टेम्बर २९ को सांझ प्लमस्टिडको डांफे रेष्टुरेन्टमा पनि सुबासको कार्यक्रम तय भइसकेको छ । अरु ठाउंहरुमा केहि कार्यक्रमहरुका लागि तयारी भइरहेको बेलायतमा बिग आइकनको कार्यक्रम संयोजनमा सहयोग गरिरहेका पत्रकार सिद्धार्थविक्रम क्षेत्रीले जानकारी दिए ।

लण्डन उत्रिंदा बिग आइकन सुबास निकै उत्साहित देखिन्थे । ‘बेलायतमा आएर आफ्नो प्रस्तुति गर्ने अवसर पाएकोमा म निकै खुशी र उत्साहित छु, ’ सुबासले भने–‘यहि अवसरमा बेलायतका नेपाली दाजुभाई दिदीबहिनीको लागि विशेष प्रस्तुति दिने तयारीको साथ आएको छु ।

बिग आइकनको माध्यबाट बेलायत जस्तो देशमा आएर कार्यक्रम गर्ने अवसर प्रदान गरेकोमा बिग एफएम र उनलाई बेलायत निम्त्याउने द ब्रिटिश कलेज तथा नेपालीपत्रप्रति उनी कृतज्ञ छन् ।
बिग एफएमका अध्यक्ष महेश भण्डारीले प्रतिभाहरु जन्माउने मात्र नभएर उनीहरुलाई अझै फराकिलो बनाउँदै लैजाने बिग आइकनको लक्ष्यअनुसार नै विजेताहरुलाई हरेक वर्ष बेलायतमा प्रस्तुति गर्ने अवसर मिलाइएको बताए । बिग आइकनको प्रतिभालाई अन्तर्राष्ट्रिय प्लेटफर्म उपलब्ध गराइदिने द ब्रिटिश कलेज र नेपालीपत्रलाई उनले धन्यवाद समेत दिए ।
युरोपको नेपालीपत्रका निर्देशक राजन कँडेलले बिग आइकन सुबास र बिग एफएम अध्यक्ष भण्डारीलाई बेलायतमा स्वागत गर्दै उनीहरुको सांगीतिक भ्रमण सफलताको शुभकामना दिएका छन् ।
बिग एफएमका अध्यक्ष महेश भण्डारी (बांया) र सातौं बिग आइकन सुबास गुरुङ लण्डनमा । प्रतिभाहरुको प्रोत्साहन गर्ने उद्धेश्यले नेपालीपत्रले हरेक वर्ष बिग आइकन विजेतालाई बेलायत बोलाउने गरेको उल्लेख गर्दै निर्देशक कँडेलले बिग आइकन सुबासका कार्यक्रमहरुमा सहभागी बनेर हौसला दिन बेलायतबासी नेपालीलाई आग्रह गरेका छन् ।