१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री दाहाल र मोदीबीच ‘वान टू वान’ वार्ता

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७३, शुक्रबार ०७:२७

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुक्रबार महत्वपूर्ण भेटवार्ता जुट्नुभएको छ । प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, समकक्षी नरेन्द्र मोदी तथा बरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालले ११ः३० बजे हैदरवाद हाउसको डेकन स्विटमा भारतीय समकक्षी मोदीसँग वार्ता गर्नेछन् । यो वार्तामा दुइ नेताबीच एक्लाएक्लै हुनेछ । कुनै सहयोगी समेत वार्तामा रहने छैनन् । दाहालको मोदीसँग यो तेस्रो औपचारिक भेटघाट हुनेछ ।

भारतीय विदेश मन्त्रालयको कार्यतालिकाअनुसार नेपाली प्रतिनिधिमण्डल र भारतीय पक्षबीच १२ बजेदेखि एक घन्टासम्म औपचारिक वार्ता हुनेछ। १ बजेदेखि १ः१० बजेसम्म हैदरवाद हाउसमै दुई पक्षीय सम्झौताहरुमा हस्ताक्षर हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीहरुले २० मिनेट प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलनका लागि बिताउनेछन्। पत्रकार सम्मेलनलाई प्रधानमन्त्री दाहाल र समकक्षी मोदीले सम्बोधन गर्नेछन्।

दिउँसो १ः३० बजे भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्री दाहालको सम्मानमा दिवाभोज दिनेछन्। शुक्रबार प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच बिहान हैदरवाद हाउसमा, ‘वान टू वान’, प्रतिनिधिमण्डलस्तरीय तथा पत्रकार सम्मेलनगरी चार पटक भेटघाट हुनेछ । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले भारतीय पक्षसँग १५ वटा विषयमा छलफल गर्ने तय भएको छ।

दाहाल-मोदी विच छलफल हुने यस्ता छन् १५ एजेन्डामा

१.वर्षैंदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना विवरणलाई अन्तिम रूप दिइने
२. महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना
३. ढल्केबर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिवृद्धि, हेटौँडामा विद्युत् सबस्टेसन स्थापना
४. गोरखपुर–भैरहवा प्रसारण लाइन
५. बंगलादेशबाट पारवहन सुविधा गर्ने विषयमा पनि छलफल हुने
६. विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने विषय
७. नेपाली कृषिजन्य उत्पादनलाई भारतमा लैजान सहजीकरण
८. ऊर्जा व्यापार सम्झौताको प्रोटोकल
९. गौरीफन्टा नाकाको स्तरोन्नत
१०. कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना
११. दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा छलफल
१२. हुलाकी राजमार्गको दोस्रो चरण निर्माण
१३. एकीकृत जाँच चौकीहरू निर्माण
१४. नेपालको व्यापार घाटा कम गर्ने विषय
१५. नेपाल प्रहरी एकेडेमी निर्माण