१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रसंघको ७३औं महासभामा भाग लिन प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७५, शनिबार ०५:३२

काठमाडौं । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै आज अमेरिका जाँदै छन् । प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले सोही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’का रूपमा उच्चस्तरीय पूर्णबैठकलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

उनी असोज ९ गते मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’लाई सम्बोधन गर्नेछन् । उनले सोही दिन एसिया सोसाइटीमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’का विषयमा सार्वजनिक व्याख्यान दिनेछन् ।

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्नेछन् ।प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्वीट्जरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् ।

उनले असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् ।प्रधानमन्त्री ओली असोज १३ गते शनिबार दुईपक्षीय औपचारिक भ्रमणकाक्रममा न्यूयोर्कबाट कोस्टारिकाको सान होजेतर्फ प्रस्थान गर्नेछन् ।

प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस)लाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री असोज १७ गते बुधबार काठमाडौंका लागि प्रस्थान गर्नेछन् । प्रतिनिधिमन्डल उनको साथमा रहनेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्य बैठकका साथै छुट्टैरुपमा असंलग्न अभियानका मुलुकको समूह, ७७ मुलुकका समूह, अल्पविकसित मुलुकका समूह तथा भूपरिवेष्टित विकासशील मुलुकका समूह तथा मध्यस्थताका मित्रका समूहका मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनेछन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले असोज ११ गते बिहीबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्नेछन् । प्रधानमन्त्री ओलीका भ्रमणदलमा उनका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनेछन् ।