१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७५, शनिबार ०५:४०

काठमाडौं । सरकारले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको मान्यता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार राति बसेको बैठकले सो निर्णय गरेको हो ।

ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत नेपाल सरकारलाई ५० अर्ब सहयोग उपलब्ध गराएको छ । बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिङको गल्छी–रातमाटे विद्युत प्रसारण लाइन आयोजना र दमौली–बुटवल आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचिकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै, माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा स्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यसैगरी सरकारले मुक्त कमैया तथा हलियाको पुनस्र्थापना समस्या समाधान आयोग गठनसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । दुवै आयोगलाई नयाँ व्यवस्थाअनुसार अगाडि बढाइने भएको छ ।

त्यस्तै बैठकले संघीय पर्यटन ऐन तर्जुमाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्ले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ पनि स्वीकृत गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई नयाँ आधारमा सञ्चालन गर्नका लागि उक्त व्यवस्था गरिएको हो ।

यसैगरी मन्त्रिपरिषदले स्थानीय तहको पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका २० ७५ र जिल्ला विकास समिति महासङ्घको दोस्रो संशोधित विधान पनि स्वीकृत गरेको छ । आपराधिक समूहबाट मारिएका सुनसरीका खुर्सिद आलमलाई शहीद घोषणा गरी उनको परिवारलाई १० लाख राहत रकम उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ । यसैगरी बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकमा पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गरेको छ ।