११ बैशाख २०८१, मंगलवार
Follow Us

दसैं टीकाको उत्तमसाइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७५, शनिबार १६:०५

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यस वर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झन्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए । झन्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए । असोज २८ गते आइतबार पचलीभैरव यात्रा परेको छ ।

यसैगरी, असोज ३० गते मंगलबार फूलपाती भित्र्याइनेछ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजाभवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थीर आसनमा राखिन्छ । असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दसैंको टीका परेको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा. डा. गौतमले बताए । विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजाभवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थीर आसनमा राखिन्छ । कात्तिक ६ गते मंगलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादसैं समापन हुनेछ ।
– रासस