१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अस्पताल भवन उद्घाटन

sarusaru
७ आश्विन २०७५, आईतवार ०५:२५

चौतारा – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जिल्लास्थित जनस्वास्थय कार्यालय आवश्यक हँुदाहँुदै पनि खारेज भएकाले साविकको अवस्थामा राख्न पहल गर्ने बताउनुभएको छ ।

राज्यमन्त्री डा यादवले शनिबार सिन्धुपाल्चोकको चौतारा अस्पताल हाताभित्र अमेरिकी मेडिकल फाउण्डेशनको रु ८५ लाख लगानीमा निर्मित दुई प्रि. फ्याव भवन उद्घाटनका अवसरमा उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा राज्यमन्त्री डा यादवले देशका सबै नगरपालिका र गाउँपालिकाका वडामा स्वास्थ्यचौकी स्थापना गर्ने मन्त्रालयको लक्ष्य रहेको उल्लेख गर्दै दुई हजार ३०० वडामा अझै स्वास्थ्यचौकी नभएकाले यस वर्ष एक हजार २०० वडामा निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

औषधि अभाव हुन नदिन आवश्यक बजेट सबै नगरपालिका र गाउँपालिकामा निकासा पठाइसकेको उल्लेख गर्दै आवश्यक कर्मचारीको व्यवस्था गर्न मन्त्रालय लागिपरेको उहाँले स्पस्ट पार्नुभयो ।

जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको सभापतित्वमा भएको सो कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा मोहम्मद दाउदले आधारभूत स्वास्थ्य पाउने जनताको अधिकार भएको चर्चा गर्नुभयो ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि सो अस्पताल जस्ताको टहरा र टेण्टबाट सञ्चालन हँुदै आएको थियो ।
रासस