१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रकवि घिमिरे सय वर्षमा प्रवेश, जन्म शताब्दी मनाउने तयारी

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७५, आईतवार ०६:०२

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष पुग्नु भएको छ । आजदेखि उहाँ सय वर्ष प्रवेश गर्नु भएको हो । राष्ट्रकै साहित्यिक गहना भएकाले उहाँको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन उहाँको जन्म शताब्दी वर्ष मनाउने तयारी छ ।

बेलाबेलामा अस्वस्थ्य भए पनि उपचारपछि उहाँ यो उमेरमा पनि साहित्यिक कर्ममा आफूलाई सामेल गराइरहनु भएको छ । अहिले उहाँ पछिल्लो महाकाव्य ‘ऋतम्भरालाई बिट मार्ने तयारीमा हुनुहुन्छ ।

राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार पाइसक्नु भएको छ ।

मर्स्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरि जन्म शताब्दी मनाउन दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । असोज २१ गते काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. वासुदेव त्रिपाठीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकका अनुसार राष्ट्रकविको जन्म शताब्दीका अवसरमा देशभरका विद्यालय र कलेजमा कविता प्रतियोगिता गरी पुरस्कृत गरी साथै उनको जन्मस्थान पुस्तुन र लमजुङको सदरमुकाम बेँसीशहरमा सांस्कृतिक कार्यक्रमसहित सम्मान गरिनेछ ।

राष्ट्रिकवि घिमिरेको नाममा हुलाक टिकट प्रकाशन, अभिनन्दन ग्रन्थ प्रकाशन, मातृभाषाबारे विचारगोष्ठी, कविता महोत्सव, वृत्तचित्र निर्माणका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । राष्ट्रकवि घिमिरे प्रमुख संरक्षक रहनुभएको प्रतिष्ठानले लमजुङ हिमाल हिमालचुलीलाई राष्ट्रकविको नाममा नामकरण गर्न, काठमाडौँ वा लमजुङमा उहाँको प्रतिमा स्थापना गर्न पहल गरिरहेको छ ।

पृथ्वीराजमार्गको डुम्रेदेखि मनाङसम्मको सडकलाई राष्ट्रकविको नाममा नामाकरण गर्न पनि प्रतिष्ठानले नेपाल सरकारसँग माग गरेको छ । संस्थाले घिमिरेको जन्मस्थान लमजुङको भीरपुस्तुन बाहुनडाँडामा राष्ट्रियस्तरको सङ्ग्रहालय निर्माणको योजना पनि अघि सारेको छ भने कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान कास्कीको अर्चलेबाट आदिकवि भानुभक्तको जन्मस्थान तनहुँ चुँदी हुँदै राष्ट्रकविको जन्मस्थान पुस्तुन बाहुनडाँडासम्मलाई साहित्यिक पर्यटनका रूपमा विकास गराउने घोषणा गरेको छ ।

पुस्तुनमा विक्रम सम्वत १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठा सन्तान घिमिरेकी अर्धाङ्गिनी महाकाली घिमिरे पनि असोज १२ गते चौरासी वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । कविवरको शताब्दी वर्ष र महाकालीको ८४ वर्ष प्रवेशको सुखद् अवसरमा उनको परिवारले आज लैनचौरमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको छ ।

घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उनले रच्नुभएको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उहाँका कृतिहरू लोकप्रिय मानिन्छन् ।