७ बैशाख २०८१, शुक्रबार
Follow Us

अग्रिम टिकट बुकिङ आजदेखि खुल्ने

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७५, आईतवार ०६:४८

काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानी भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो । आजबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरिएको छ ।

यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खाताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ । सिण्डिकेट कायम गरेको भन्दै सरकारले २ सय ४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।

वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । अग्रिम टिकट बुकिङ आज आइतबारदेखि खुलाउने सहमति भएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।