१३ बैशाख २०८१, बिहीबार
Follow Us

न्यायाधीश जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न कांग्रेसको नेकपालाई चेतावनी

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७५, आईतवार ११:०५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सचेत गराएको छ।

सर्वाच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीमाथि महाअभियोग लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले गोप्य रुपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको चर्चा भईरहेका बेला नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले त्यसो गर्नु गल्ती हुनेभन्दै सचेत गराएका हुन्।

आइतबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले महाअभियोगलाई सामान्य अवस्थामा प्रयोग गर्ने अस्त्रको रुपमा लिन नहुने पनि स्पष्ट पारे। कांग्रेसले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको स्मरण गराउँदै वरिष्ठ अधिवक्ता समेत रहेका सांसद अधिकारीले कांग्रेसको जस्तै गल्ती हुनेगरी जोशी विरुद्ध महाअभियोग लगाए जनताले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पनि दण्डित गर्ने बताए।

उनले वरिष्ठ न्यायाधीश जोशीलाई राजीनामा नदिए महाअभियोग लगाउँछौं भन्ने खालको धम्की दिइएको भन्दै आफूहरुलाई यस्ता धम्की सैह्य नहुने चेतावनी पनि दिए। बस्तुगत आधारविना नै सत्तारुढ नेकपाले महाअभियोग लगाउन खोज्नु नै गलत भएको सांसद अधिकारीको दावी छ।

उनले न्यायालयलाई अमुक पार्टीको शाखा कार्यालय बनाउन नदिने दृढता पनि व्यक्त गरे।