७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रसंघ महासभामा नेपालको २१ सदस्य जम्बो टोली

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७५, आईतवार १४:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली परम्परालाई निरन्तरता दिँदै ‘जम्बो’ टोलीसहित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क गएका छन् । यसअघिका सरकार प्रमुख पनि अनावश्यक ठूलो टोलीको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा जाने गरेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभामा होस् या कुनैपनि विदेश भ्रमण । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखले भ्रमण टोलीमा अनावश्यक व्यक्तिहरुलाई समावेश गर्ने परम्परा विगतदेखि चल्दै आएको छ । प्रधानमन्त्री ओलीले पनि त्यही परम्परालाई निरन्तरता दिएका छन् ।

६ सदस्सीय टोलीमात्रै गए हुने राष्ट्रसंघको महासभाको बहानामा प्रधानमन्त्री ओलीसँग उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसहित २१ सदस्य अमेरिका गएका छन् ।

राष्ट्रसंघको महासभामा नेपालका सरकार प्रमुखको भ्रमण टोलीको इतिहास हेर्ने हो भने ४९ सदस्यीय टोलीसम्म गएको देखिन्छ । नेपालले राष्ट्रसंघको सदस्यता लिएपछि सुरुका केही वर्षमा ६ जनाको टोलीमात्रै जाने गरेको थियो । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालामा पनि ६ सदस्यीय टोलीलेमात्र महासभामा भाग लिएको थियो । त्यो परम्परा पञ्चायतको धेरै समयसम्म पनि कायम रह्यो । तर, त्यसपछिका वर्षहरुमा भने जुनसुकै सरकार प्रमुखले महासभालाई आफन्त र आसेपासेलाई अमेरिका देखाउने अवसरकारुपमा दुरुपयोग गर्ने गरेका छन् ।