१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल र भारतबीच तीन बुँदे सम्झौता

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७३, शुक्रबार १४:२८

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमणका क्रममा नेपाल र भारतबीच तीन सम्झौता गरेका छन् । प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा तीन सम्झौता भएको हो । पहिलो सम्झौता हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिसका विषयमा रहेको छ भने दोस्रो भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणबारे सम्झौता भएको हो । यस्तै भेटमा दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको छ । त्यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका अर्थमन्त्री अरुण जेटलीबीच भएको भेटमा नेपालको आर्थिक विकास र विकासका पूर्वाधारमा भारतको सहयोग सम्बन्धमा छलफल भएको छ । यसअघि प्रधानमन्त्री दाहालसँग भारतीय जनता पार्टीका महासचिव राम माधव र नेपाल मामिलाका जानकार एसडी मुनिले पनि भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति मुखर्जीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता
भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसीहित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । सो अवसरमा निकट भविष्यमा हुने भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । भेटमा दुवै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।
यसअघि प्रधानमन्त्री दाहालले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक भेटवार्ता गर्नुभएको थियो ।