१२ बैशाख २०८१, बुधबार
Follow Us

कञ्चनपुरमा आन्दोलन र अनुसन्धान भइरहँदा पनि बलात्कार

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७५, सोमबार ०९:३२

काठमाडौं । निर्मला प्रकरणले कञ्चनपुर अशान्त भइरहँदा पनि कञ्चनपुरमा बलात्कारका घटनाहरु दोहोरिरहे । निषेधाज्ञा जारी गरिएकै बेला साउन १९ गते भीमदत्तनगरपालिका–१० का ४० वर्षीय लक्ष्मीराम कोलीले पाँच वर्षीया बालिकालाई घरमा एक्लै भएको मौका छोपेर बलात्कारको प्रयास गरे । बालिकामाथि बलात्कारको प्रयास गर्दै गर्दा गाउँलेले थाहा पाएपछि पक्राउ परेका कोली पनि कारबाहीको दायरामा रहेको जिप्रका कञ्चनपुरले जनाएको छ ।

त्यसैगरी, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई गाउँकै केही युवकले सामूहिक बलात्कारको प्रयास गरे । गाउँको नहर छेउमा मध्यरात स्थानीयवासी जनक खड्का र भानसिंह विष्टसहितको उक्त समूहले किशोरीलाई जबरजस्ती बलात्कार प्रयास गरेको थियो । उक्त घटनामा खड्का र विष्ट पक्राउ परेका छन् भने अन्य फरार रहेका छन् । उनीहरुको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ ।
गत भदौं २६ गते महाकाली नगरपालिकाका–४ का ४० वर्षीय आइते सुनारले सोही नगरपालिकाका १० वर्षीया बालिकालाई धानबारीमा लगेर जबरजस्ती करणी गर्न खोजेको प्रहरीको अभिलेख छ । यो घटनामाथि अनुसन्धान भइरहेको छ ।

यहाँको वेदकोट नगरपालिका–१० मा पनि साउन महिनामै ५३ वर्षीय ध्वजराम कामीले झारफुक गर्ने बहानामा ५१ वर्षीया महिलाई बलात्कार प्रयास गरेको थियो । घटना लगत्तै पक्राउ परेका कामी पनि प्रहरी अनुसन्धानमा छन् । जिप्रका कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–७ परासनका ३० वर्षीय नरेश राना पनि बलात्कार आरोपमा पक्राउ परेका छन् । भैंसी चराउन गएकी ३९ वर्षीया महिलालाई उखुबारीमा लगेर रानाले बलात्कार गर्न खोजेको प्रहरीको भनाइ छ ।

त्यसैगरी, गत भदौको तेस्रो साता बेल्डाँडी गाउँपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्ट पनि ६ वर्षीया बालिकामाथि बलात्कार आरोपमा पक्राउ परेको जिप्रकाले जनाएको छ । अभियुक्त विष्टले नाबालकलाई ललाइफकाई जबरजस्ती करणी गर्न खोजेको बताइएको छ ।
बलात्कार-जबरजस्ती करणीका घटनाहरु बढिरहेकै बेला गत बिहीबार कृष्णपुर नगरपालिकामा विद्यालयमै ७ वर्षीया बालिकालाई १० वर्षीय बालकले बलात्कार प्रयास गरे । बालक प्रहरी निगरानीमा रहेको जि प्रका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिनुभएको छ ।

कञ्चनपुरमा गत वर्ष बलात्कार र जबरजस्ती करणीका ३३ मुद्दा प्रहरीमा आएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७४÷७५ मा जबरजस्ती करणीमा १८ र जबरजस्ती करणी उद्योगमा १५ वटा मुद्दा दर्ता भएका थिए । “पहिले १६ वर्षभन्दामाथि उमेर समूहकालाई बलात्कार गरेका घटनाहरु बढी थिए,” जिप्रका कञ्चनपुर स्रोतले भन्यो– “अहिले किशोरी र बालिकामाथि यसप्रकारका जघन्य अपराधहरु घट्दै गएको देखिन्छ ।”

लागुपदार्थको दुव्र्यसन, कानूनबारेको अनभिज्ञता, अशिक्षा लगायतका कारण महिलामाथिका हिंसाका घटनाहरु बढिरहेको विज्ञहरु बताउँछन् ।