१३ बैशाख २०८१, बिहीबार
Follow Us

निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य

sarusaru
९ आश्विन २०७५, मंगलवार ०४:२७

महेन्द्रनगर। कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ। ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो। साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो।

घटनाको भएको दुई महिना भइसक्दा पनि दोषी पहिचान हुन सकेको छैन। साउन ११ देखि नै अनुसन्धानमा जुटेको प्रहरी प्रशासनले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन। अनुसन्धान प्रगति शून्य जस्तै छ।
‘अझैसम्म खासै ठोस प्रमाण फेला पर्न सकेन’, कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले भने– ‘गहन ढंगले अनुसन्धान भइरहेको छ तर अपराधी को हुन् भन्ने स्पष्ट भइसकेको छैन।’ उनले अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरे।

अनुसन्धानमा कञ्चनपुर प्रहरीलाई प्रहरी प्रधान कार्यालयले बनाएको अनुसन्धान टोलीले पनि सघाइरहेको छ। गत भदौ ३१ गते नेपाल प्रहरीले घटनाको विषयमा छानविन गर्न डीआइजी धीरु बस्नेतको संयोजकत्वमा समिति पुनर्गठन गरी फेरि अनुसन्धानका लागि कञ्चनपुरमा रहेको छ। तर यो समितिले पनि अहिलेसम्म ठोस प्रमाण पनि जुटाउन सकेको छैन। प्रहरीले हत्याराको कुनै सुइँको पाउन सकेको छैन।
घटनाको अनुसन्धानमा प्रहरीको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको प्रहरी अधिकृतको भनाइ छ। निर्मला हत्याकाण्डमा प्रहरी प्रशासन निकै आलोचित भयो।

नेपालको उच्च अनुसन्धान छवि बनाएको सीआईबी पनि घटनाको प्रमाण लुकाउन खोजेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (निलम्बित) एसपी डिल्लीराज विष्टसँगै फस्यो। प्रहरी इतिहास मै पहिलो पटक सिआईबी पनि अनुसन्धानमा चुक्यो। यसले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा नै प्रश्न चिन्ह लगाएको छ।

प्रहरीले नै प्रमाण नष्ट गरेको भन्ने आरोप लागेसँगै प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, दुई जना प्रहरी निरीक्षक र एक जना असईलाई निलम्बन गरेको थियो। छोरीले न्याय पाउने आशा मर्दै गएको निर्मलाका आमाबुवाको भनाइ छ।

स्थानीय सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने निर्मला पन्तको बलात्कार र हत्या घटनापछि उनको लागि न्याय माग्दै कञ्चनपुरसहित देशैभर प्रदर्शन भइरहेको छ। हत्याको विरोधमा महेन्द्रनगरबाट शुरु भएको प्रदर्शन देशभरि नै फैलिएको हो। मुख्य अभियुक्त भनेर स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा भइरहेको आन्दोलनले उग्ररुप लियो।

त्यस क्रममा प्रहरीले कहिले अश्रुग्यास प्रहार गर्यो भने कहिले आन्दोलनकारीमाथि गोली प्रहार भयो । प्रहरीले चलाएको गोली लागी दुई दर्जन आन्दोलनकारी घाइते भए। स्थानीय एक बालक सन्नी खुनाले ज्यान नै गुमाउनुप¥यो । घाइतेमध्ये एक जनाको राजधानीमा उपचार भइरहेको छ। हालसम्म उनको होस आएको छैन् भने उनले एउटा खुट्टा समेत गुमाउनुपरेको छ।
घटना घटेको दुई महिनाको अवधिमा कञ्चनपुरलगायत देशैभरि विभिन्न घटना भएका छन।
नेपाल समाचारपत्र दैनिक