७ बैशाख २०८१, शुक्रबार
Follow Us

सउलको केबिएस एरेनामा हाउसफुल नेपथ्य

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७३, शुक्रबार १४:२९

 

 

सउल (दक्षिण कोरिया) । दक्षिण कोरियाको राजधानी सउलको ४००० दर्शक अटाउने केबिएस एरेनामा बिहीबार प्रस्तुत हुँदा नेपथ्यले हाउसफुल शो गर्न सफल भएको छ।  सउलमा नेपथ्यको या चौथो यो प्रस्तुती हो।

आयोजनास्थल खचाखच भरिएपछि अलिक ढिला आइपुगेका दर्शकहरु कार्यक्रम नहेरेरै फर्किनुपरेको थियो। हलको क्षमताले नधान्ने भएपछि ठूलो संख्यामा दर्शकलाई गेटमै रोकेर राख्न हामी बाध्य भयौं र निकै परबाट आउनुभएका त्यस्ता दर्शकहरुलाई निराश बनाउनु पर्दा असाध्यै दुःख लागेको छ,’ आयोजक नेपाल तामाङ संघका अध्यक्ष उइनासिंह तामाङले भने, ‘कतिपयले नेपाली कार्यक्रमको निरन्तरताकै रुपमा यसलाइ पनि लिइदिएर ढिला आउनु भयो। ठ्याक्कै समयमा सुरु हुने नेपथ्यको शो त्यस्ता दर्शकहरुले हेर्न पाउनु भएन।

कोरियामा यतिबेला चलिरहेको चुसक पर्वकै क्रममा यहाँस्थित तामाङ समुदायले नेपथ्यलाई निम्त्याएको हो। बाली काटेर थन्क्याएपछि परिवार र आफन्तजनसँग रमाइलो गरिने परम्परा बोकेको यो पर्व तीन दिनसम्म सार्वजनिक विदाका साथ मनाइने गरिन्छ। यस्तो बेलामा कोरियालीहरु आफ्नो थातथलो घुम्नजाने र पहिचानमा रमाउने गर्छन्। कोरियामा बस्दै आएका नेपालीहरु भने यस्तो क्षण साथीभाइहरुसँग भेटघाट र खानपिनमा रमाउँदै आइरहेका छन्। यसपाला नेपथ्यले तिनै नेपाली मनहरुलाई उनीहरुको लोकभाकामा आधारित गीतहरुको कोसेलीसहित पहिचानको आनन्दसँग जोडिदिएको छ।

कोरियाको कुना काप्चामा कमाउँदै आएका नेपालीहरु पनि यो क्षण सउलमा भेला भएका छौं,’उइनासिंहले थपे, ‘यो समय हाम्रो निम्ति दशैं जस्तै भएको छ।

बिहीबार नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले दर्शकहरुलाई सबैभन्दा पहिले चुसककै बधाइ र अभिवादनसहित कार्यक्रम थालेका थिए। कोरियामा यतिबेला वाली थन्क्याउने बेला भइसकेको छ जबकि स्वदेशमा अझै अलिक समय बाँकी छ। म यहाँ आउनुअघि कास्कीस्थित मेरो खेतमा धान गोडेर आएको हुँ,’ अमृतले भने, ‘नेपालमा पनि हामी अब चाडबाडको मुखैमा पुगेको यो क्षण म तपाइँहरुलाई दशैंको अग्रिम शुभकामना दिन चाहन्छु।

कार्यक्रममा नेपथ्यका सर्वकालीक हिट गीतहरु प्रस्तुत गरिएको थियो जसमा ब्याण्डको आगामी अल्बममा समेटिन लागिएको मध्येबाट कोशीको पानी यो जिन्दगानीहो रामा रामापनि सुनाइएको थियो। भर्खरै ब्याण्डले यु ट्युबबाट सार्वजनिक गरेका यी दुवै गीतहरु इन्टरनेटमा जति हिट भइरहेको छ त्यति नै सउलका दर्शकहरुलाई पनि उफार्न सफल भएको देखिन्थ्यो।

दस वर्षअघि तयार पारेको यो गीतलाई सबैभन्दा पहिले मैले दुई वर्षअघि कोरियाकै मञ्चबाट पहिलोपटक गाएको थिएँ,’ अमृतले भने, ‘त्यो प्रस्तुतीबाट मिलेको उर्जाकै कारण यो अहिले नेपथ्यप्रेमीहरुमाझ सर्वत्र लोकप्रिय बन्दै गइरहेको छ।त्यही गीत हो रामा रामालाई ब्याण्डले औपचारिक रुपमा सार्वजनिक गरेपछि पनि पहिलोपटक कोरियाकै दर्शकमाझ सुनाउन पाउँदा अत्यन्तै खुशी लागेको अमृतले उल्लेख गरे।

मैले स्टेजबाट हेर्दा हो रामा रामा भन्दै एकापसमा कराउदै नाचीरहेका दर्शकहरु जताततै देखिरहेको हुन्छु,’ अमृतले थपे, ‘सार्वजनिक दुवै नयाँ गीत मनपराइदिनुभएकोमा हाम्रा समस्त श्रोता दर्शकप्रति आभारी छौं।

कोरियामा नेपथ्यले प्राप्त गरेको यो नयाँ मञ्च केबिएस एरेनायसको उच्च गुणस्तरका कारण ब्याण्डको निम्ति सहज मात्र नभएर त्यहाँका आयोजकले नेपाली दर्शकहरु प्रति प्रस्तुत गरेको सम्मानको प्रतिक पनि थियो।

म १२ वर्षदेखि यहाँ बसेर आयोजना भइरहेका कार्यक्रमहरु नियाल्दै आइरहेको छु,’ आयोजक उइनासिंह तामाङले भने, ‘बिहीबारको कन्सर्टले प्राविधिक गुणस्तर, दर्शकको उपस्थिती र सिंगो प्रस्तुतीमा देखिएको स्तरका हिसाबले नेपाली कार्यक्रम पनि यो हदसम्म स्तरिय हुनसक्छ भन्ने मानक नै तयार पारेको छ।

तामाङ संघले कोरियामा संकटमा परेका आप्रवासीहरुका निम्ति सेल्टर होमबनाउने लक्ष्य लिएको जानकारी पनि तामाङ संघका अध्यक्ष उइनासिंह तामाङले दिए। यसका निम्ति आर्थिक जोहो गर्ने उपायको खोजी सुरु भइसकेको छ। नेपथ्यको यो प्रस्तुतीबाट भएको मुनाफाको पैसा पनि हामीले त्यसैमा लगाउने निधो गरिसकेका छौं,’ उनले भने।

दक्षिण कोरियाको भब्य प्रस्तुतीसँगै ब्याण्ड अत्यन्त छोटो विश्रामको निम्ति नेपाल फर्किसकेको छ। नेपथ्य आगामी साता नै दुईवटा अमेरिकी सहरमा कन्सर्ट दिन त्यसतर्फ जाँदैछ। सेप्टेम्बरको २४ तारिखका दिन न्यूयोर्कको म्यानहटनस्थित प्रसिद्ध ह्यामस्र्टन बलरुममा यो टोली प्रस्तुत हुनेछ। त्यसपछि अक्टोबर १ तारिखका दिन फेरि एकैपटक उक्त मुलुकको पश्चिमी कुना सानफ्रान्सिस्को पुगेर त्यहाँस्थित वारफिल्ड थिएटरमा नेपथ्य भाका गुञ्जाउने छ।