१२ बैशाख २०८१, बुधबार
Follow Us

निर्मला हत्या प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायो

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७५, मंगलवार ०८:५८

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको छानबिन गर्न गठन गरिएको समितिले गृहमन्त्री रामबहादुर थापालाई आज प्रतिवेदन बुझाएको छ । समितिका संयोजक हरिप्रसाद मैनालीले मंगलबार गृहमन्त्रालय पुगेर गृहमन्त्री बादललाई प्रतिवेदन बुझाएका हुन् ।

उक्त कार्यक्रममा गृहसचिव, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, छानबिन समिति सदस्यहरूको उपस्थिति रहेको थियो । प्रतिवेदनमा के रहेको छ भन्ने सार्वजनिक गरिएको छैन ।

समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो । समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ ।

निर्मला बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिहरू छुटिसकेका छन् । दुई महिनाभन्दा बढी समय भइसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । बलात्कार र हत्यामा ठूलै व्यक्तिको संलग्नता रहेको र आफूमाथि सुरक्षा चुनौती रहेको भन्दै समितिका एक सदस्य उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका थिए । उनले राजीनामा दिएको दुईदिनपछि उक्त राजीनामा फिर्ता लिएर समितिमा नै फर्किएका थिए ।