१२ बैशाख २०८१, बुधबार
Follow Us

यस्तो छ छानविन समितिले बुझाएको प्रतिवेदनका निष्कर्ष

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७५, मंगलवार १४:२९

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई सुटुक्क आफ्नो प्रतिवेदन बुझाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई मंगलबार प्रतिवेदन बुझाएको हो ।

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले गम्भीर गल्ती गरेको भन्दै अनुसन्धान समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा प्रहरीको गल्ती र कमजोरी लगायतका कुरा औंल्याइएको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनमा उल्लेख भएका कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिवेदनमा मुख्य गल्ती एसपी विष्टकै भएको बताइएको छ ।

गृह स्रोतले दिएको जानकारीअनुसार एसपी विष्टले घटना हुनु अघिदेखि गोली चलाउँदासम्म त्रुटि गरेको औंल्याएको छ । साउन १० गते निर्मला पन्त हराउने बित्तिकै परिवारले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीले परिवारको कुरा नसुनेको र उनको खोजीमा प्रहरी परिचालन नभएकाले एसपी विष्टको गल्ती कमजोरी औंल्याइएको छ । हराएको भन्ने बित्तिकै प्रहरी परिचालन भएको भए यस्तो घटना हुन नसक्ने बताइएको छ ।

बलात्कारपछि हत्या जस्तो जघन्य अपराध हुँदा र प्रहरीको तीव्र आलोचना हुँदासमेत विष्ट घटनास्थल नगएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एसपी विष्टले उदासिनता देखाएको आरोप प्रतिवेदनमा लगाइएको छ । घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गर्नुपर्नेमा शब धोएको, सुरुवाल धोएकोलगायत घटनास्थलका प्रमाण मेटाउने काम भएकाले एसपी विष्ट त्यसमा पनि चुकेको बताइएको छ । सकेसम्म आफू नै जानुपर्ने वा आफू जान नसकेको अवस्थामा पनि प्रमाण जोगाउन नसककेकाले उनले गम्भीर लापरबाही गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै एसपी विष्टले पीडित परिवार, स्थानीयबासी, स्थानीय राजनीतिक दलका नेतासँग पनि रुखो व्यवहार गर्ने गरेको आरोप प्रतिवेदनमा उल्लेख छ । उनकै व्यवहारका कारण आन्दोलन चर्किन मद्दत पुगेको समितिको निष्कर्ष छ । पन्तको बलात्कारपछि हत्या हुनु र लामो समयसम्म पनि बलात्कार पक्राउ पर्न सकेका थिएनन् । हत्यारालाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आन्दोलन चर्किदै गएको थियो ।

आन्दोलनका क्रममा एसपी विष्टले गोली चलाउन आदेश दिएका थिए । प्रहरीको गोली लागेर केही आन्दोलनकारी घाइते भए । यसमा पनि एसपी विष्टले गम्भीर गल्ती गरेको पाइएको छ ।

उनले तत्कालीन प्रजिअ कुमारबहादुर खड्काको अनुमति बिना नै गोली चलाएको प्रतिवेदनमा उल्लेख छ । समितिले प्रजिअ खड्कासँग सोधपुछ पनि गरेको थियो । आफूले एसपी विष्टलाई पटक–पटक फोन गर्दा पनि नउठाएको र गोली नचलाउनुहोला भनेर म्यासेज पठाएको भएपनि गोली चलाएको प्रजिअ खड्काले बताएको कुरा प्रतिवेदनमा उल्लेख छ । एसपी विष्टले भने प्रहरी कर्मचारी नै असुरक्षित भएको देखेपछि गोली चलाउन आदेश दिएको बताएका छन् । एसपी विष्ट लगायत अन्य प्रहरी अधिकारीले पनि गल्ती कमजोरी गरेको प्रतिवेदनमा उल्लेख छ ।

समितिले गृहलाई बुझाएको यो प्रतिवेदन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिलाई बुझाउने गृह मन्त्रालयले जनाएको छ । एसपी विष्टलाई लागेको आरोप पुष्टि भए उनको जागिर नै जानसक्ने छ । ’अन्य प्रहरी अधिकारीबाट पनि गल्ती भएको देखिएको छ । मुख्य गल्ति चाहिँ एसपी विष्टकै देखिन्छ’, स्रोतले भन्यो ‘एसपी विष्टलाई लागेको आरोप पुष्टि भए जागिर पनि जान सक्छ ।’

समितिले यसबारे स्थानीय, पीडित परिवार, एसपी विष्टका चालक, घटनास्थलमा पुगेका तल्लो दर्जाका प्रहरी कर्मचारीलगायतसँग बयान लिएको थियो । त्यसैगरी डिएनए परीक्षणबाट निर्दोष देखिएका दीलिप विष्टलाई प्रहरीले यातना दिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । मानसिक सन्तुलन ठीक नभएका भनिएका विष्ट प्रहरीको यातनाबाट थप बिरामी भएको भन्दै विष्टका दाजुले प्रहरीसमक्ष निवेदन दिएका थिए । समितिले पनि यातना दिएको ठहर गरेको छ । प्रहरीको यातनाबाट थप बिरामी परेका भनिएका विष्टको उपचार सरकारले गर्ने भएको छ ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शंकास्पद देखिएपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते छानबिन समिति गठन गरेको थियो । समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो ।

समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनी बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो ।

समितिले बुझाएको प्रतिवेदन गृह मन्त्रालयले भने गोप्य राखेको छ । प्रतिवेदन अहिले नै बाहिर ल्याउँदा अपराधी उम्कन सक्ने भन्दै अहिले नै सार्वजनिक नगरिएको गृह मन्त्रालयका सचिव प्रेम राईले जानकारी दिए । प्रतिवेदन १ सय पृष्ठ भन्दा लामो भएको बताइए पनि मन्त्रालयले यसबारे समेटिएका कुरा अहिले नै सार्वजनिक गर्न नमिल्ने बताएको छ । त्यसैगरी अहिले अनुसन्धानमा खटिएको प्रहरी टोली अनुसन्धानको दायरा फराकिलो पार्दै सेना ब्यारेकसम्म पुगेको बताइएको छ ।

छानबिनमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका समिति सदस्य वीरेन्द्र केसीले अनुसन्धानमा देखिएका सबै विषय उल्लेख गरिएकाले आफू सन्तुष्ट रहेको बताएका छन् ।

सहसचिव मैनाली नेतृत्वको समितिले गत भदौ ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिसअनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी)हरू ज्ञानबहादुर सेटी र अंगुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो । यसअघि नै एसपी डिल्लीराज विष्ट भने निलम्बनमा परिसकेका थिए ।