७ बैशाख २०८१, शुक्रबार
Follow Us

साझा नेपाली समाज युकेको अध्यक्षमा महेश अधिकारी निर्विरोध

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७५, बुधबार ०८:०९

लण्डन । बेलायतका मिडल्याण्ड क्षेत्रका संस्थाहरु मिलेर बनेको साझा संस्था ुसाझा नेपाली समाज यूकेुको अध्यक्षमा महेश अधिकारी निर्विरोध चयन भएका छन् । सोमबार मिडल्याण्डको वुल्भरह्याम्पटनमा सम्पन्न संस्थाको विशेष भेलाले अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहने छ ।

साझाको नयां कार्यसमितिमा नारायण फुंयाल र रामचन्द्र सुवेदी उपाध्यक्ष, मिलन सापकोटा महासचिव र नृपेश उप्रेती सचिवको जिम्मेवारीमा आएका छन् । सदस्यहरुमा हरि भुषाल, सुदर्शन पराजुली, पुण्डरी अर्याल, टिकाराम गौतम, रामप्रसाद बञ्जाडे, श्याम खत्री, भिम शर्मा, विष्णु लामिछाने, कमल आचार्य चुनिए ।

चौंथो कार्यसमितिका नवनिर्वाचित अध्यक्ष अधिकारी निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । यसअघि उनले पिटरबरो नेपाली समाजको अध्यक्षका रुपमा २ कार्यकाल काम गरिसकेका छन् ।

मिडल्याण्ड क्षेत्रमा रहेका पिटरबरो नेपाली समाज, सिर्जनशिल लेस्टर नेपाल, हाम्रो नेपाली समाज , वुल्भरह्याम्पटन लगायतका संस्थाहरुबाट चुनिएर आएका प्रतिनिधीहरुलाई समेटेर साझाको नयां कार्यसमिति गठन गरिएको हो ।

यसअघि कार्यसमिति चयनको जिम्मा दयानिधी सापकोटा संयोजक तथा गंगाधर गौतम र तारानाथ भण्डारी सदस्य रहेको निर्वाचन समितिलाई दिइएको थियो ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले संस्थाको अवधारणाअनुसार नै मिडल्याण्डको साझा बन्ने गरी सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता गरेका छन् ।

नवगठित कार्यसमितिलाई बधाई एवं शुभकामना दिँदै निवर्तमान अध्यक्ष रण बहादुर खातीले आफ्नो सहयोग साझालाई सदा रहने प्रण गरे । साझाका भूतपूर्व अध्यक्षद्वय गंगा गौतम र राजु कँडेलले पनि बधाई दिएका थिए भने संस्थापक अध्यक्ष शंकर भन्डारीले नयाँ कार्यसमिति टिमलाई खादा र टिका लगाएर बधाई एवं शुभकामना दिए ।

सन् २०१२ मा विशुद्द सामाजिक सेवाभावको लक्ष्य बोकेर स्थापित साझा नेपाली समाज यूकेले स्थापना भए यता मिडल्यान्ड र यस वरपर अवस्थित नेपाली संघ सस्थाहरुबीच छाता संगठनको रुपमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले नेपालमा आई पर्ने प्राकृतिक विपत्तिमा सरसहयोग तथा अन्य कल्याणकारी कार्य निरन्तर रुपले गर्दै आएको छ ।