१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजदुत डा. सुवेदीलाई अर्को सफलता, अन्तर्राष्ट्रिय संगठनमा अध्यक्ष निर्वाचित

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७५, बुधबार ०९:०६

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको एक समितिमा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली दुतावास लण्डनका अनुसार उनी अन्तर्राष्ट्रिय कफी संगठनको प्रवद्र्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । संगठनको सेप्टेम्बर १७ देखि २१ सम्म लण्डनमा सम्पन्न संगठनको १ सय २२ औं अधिवेसनले संगठनमा नेपालका स्थायी प्रतिनिधी समेत रहेका डा. सुवेदीलाई सो समितिको अध्यक्षमा निर्वाचित गरेको हो ।

डा. सुवेदी यसअघि मेक्सिकोमा सम्पन्न १ सय २१ औं अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै सो समितिको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

यस्तै अधिवेसनले नेपाललाई संगठनको मूल समिति र तथ्याङ्क समितिको कार्यकारी सदस्य पदमा समेत निर्वाचित गरेको दुतावासले जनाएको छ ।

अधिवेसनमा राजदुत डा. सुवेदीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव बुद्धिप्रसाद उपाध्याय, लण्डन दूतावासका काउन्सेलर शरदराज आरण, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत लक्ष्मण पोखरेल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सल्लाहकार डा. बद्रीप्रसाद बस्ताकोटी र लण्डन दूूतावासका तृतीय सचिव भूपेन्द्र प्रसाद घिमिरे सदस्य रहेको नेपाली प्रतिनिधिमण्डल सहभागी थियो ।

नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय कफी संगठनका अध्यक्ष एली टाउर, कफी उत्पादक राष्ट्रहरुको समूह संयोजक तथा प्रवक्ता एवम् संगठनका लागि ब्राजिलका स्थायी प्रतिनिधि हर्मानो रिबेइरोसँग शिष्टाचार भेट गरी संगठनमा कफी उत्पादक राष्ट्रहरुको हक,हित र कल्याण एवं नेपालको कफी उत्पादन र बजार प्रवद्र्धन तथा संगठनमा नेपालको सक्रिय सहभागिता सम्बन्धमा द्धिपक्षीय वार्ता गरेको थियो ।

सन् २०१७ मा मात्र संगठनको पूर्ण सदस्यता प्राप्त गरेको नेपालले डेढ वर्षभित्र उक्त संगठनमा प्राप्त गरेको सफलतालाई संगठनका सदस्य राष्ट्रहरुले महत्वपूर्ण उपलब्धीका रुपमा लिएको नेपाली दुतावास लण्डनद्धारा विज्ञप्तिमा उल्लेख छ ।