७ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारले जनचाहनाअनुसार काम गर्न सकेन : दाहाल

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७५, बुधबार १४:३६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले जनचाहनाअनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । नेपाल पर्यटन यातायात व्यवसायी संघको १५औं साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले जनचाहनाअनुसारको काम सरकारले गर्न नसकेकाले पार्टी र सरकारले समीक्षा गर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केपछि सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल हुने उनको भनाइ थियो । अध्यक्ष दाहालले नेपालको आर्थिक क्षेत्रको मेरुदन्डकारुपमा रहेको पर्यटन उद्योगको विकासबिना मुलुकको समृद्धि अगाडि बढ्न नसक्ने बताए । पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

पञ्चायतकालीन ऐन–कानुन विकासमा बाधक देखिएकाले त्यस्ता कानुन परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष दाहालले सरकारले व्यवसायीमाथि थिचोमिचो र सौतेनी व्यवहार नगरी सहुलियत दिनुपर्ने पनि बताए ।

काठमाडौंमा चाँडै नै पर्यटक बसपार्क निर्माण
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको र पर्यटनमैत्री यातायातलाई व्यवस्थित गरिने बताए । उनले काठमाडौंमा चाँडै नै पर्यटक बसपार्क निर्माण गरिने जानकारी दिए । व्यवसायीहरुले भने सरकारले पर्यटन व्यवसायीका माग सम्बोधन गर्न नसकेको गुनासो गरेका थिए । कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।