८ बैशाख २०८१, शनिबार
Follow Us

मावा खोला उत्खनन रोक्न स्थानीयवासीको माग

sarusaru
११ आश्विन २०७५, बिहीबार ११:३३

उर्लाबारी – जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् ।

अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीका कारण उर्लाबारी मुख्य चोक नै जोखिममा परेको भन्दै स्थानीयवासीले उत्खनन रोक्न माग गरेका हुन् । स्थानीयवासीले मोहनप्रसाद भण्डारीको संयोजकत्वमा मावा खोला उत्खनन नियन्त्रण संयुक्त समिति नै निर्माण गरेर जथाभावी भइरहेको उत्खनन रोक्न माग गरेका हुन् । सो समितिले उर्लाबारी नगरपालिका–६ का साथै सीमामा रहेको झापाको दमक नगरपालिका–३ र ४ वडा कार्यालय तथा उर्लाबारी नगरकार्यपालिका र दमक नगर कार्यपालिकामा पनि जथाभावी रुपमा भइरहेको खोला उत्खनन रोक्न माग गरेता पनि चासो नदिएको संयोजक भण्डारीले गुनासो गर्नुभयो ।

सो समितिले प्रदेश सांसद कुशलसाम्बा लिम्बू, प्रतिनिधिसभा सांसद घनश्याम खतिवडाका साथै प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको पनि ध्यानाकर्षण गराउँदै मावा खोलाबाट जथाभावी रूपमा बालुवा र गिट्टी उत्खनन भई निकासी भइरहेकाले त्यसलाई रोक्न माग गरेको स्थानीयवासी सुरेश राउतले बताउनुभयो । सो खोलाबाट टिपर र ट्र्याक्टरले जथाभावी बालुवा र गिट्टी झिकेर लैजाँदा खोला करीब छ मिटरसम्म गहिरिएको छ ।

खोला गहिरिँदै गएकाले खोला किनारमा बनाइएका स्परसमेत भत्किन थालेका छन् । स्थानीय तहले नियमित रुपमा अनुगमन नगर्दा टिपर र ट्र्याक्टरले जथाभावी रुपमा खोला उत्खनन गर्दा खोला नजीकै रहेको सिद्धेश्वर शिवधाम मन्दिर, उर्लाबारी नगरपालिकाको निर्माणाधीन बसपार्कसहित स्थानीयवासीका तीन सयभन्दा बढी घर जोखिममा रहेको राउतले बताउनुभयो । “जथाभावी उत्खनन गर्दा खोला गहिरो भएकाले खेतीबालीमा पानी लगाउन समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “यदि तटबन्ध फुटे उर्लाबारी मुख्य चोकमै ठूलो क्षति पु¥याउनेछ ।” जथाभावी खोला उत्खननको विषयमा वडा कार्यालयदेखि प्रदेश सरकारसम्म जानकारी गराएको बताउँदै राउतले भन्नुभयो, “समयमै खोला उत्खननमा रोक नलगाए उर्लाबारीवासीले ठूलो नोक्सानी व्यहोर्नुपर्नेछ ।”

मोरङ र झापा जिल्लाको सीमामा रहेको सो खोलाबाट दैनिक करीब ३०० भन्दा बढी टिपर र ट्र्याक्टरले बालुवा, गिट्टी लैजाने गर्दछन् । “बिहानको ३ देखि रातको ११ बजेसम्म नै ट्र्याक्टर खोला पस्ने गर्दछन्”, स्थानीयवासी जीवन आचार्यले भन्नुभयो, “स्थानीय सरकारले यसको अनुगमन नगर्दा ठूलो समस्या निम्तिने देखिएको छ ।” विगत सात÷आठ वर्षदेखि मावा खोलामा भइरहेको उत्खननले खोलाको गहिराइ छदेखि आठ मिटरसम्म भइसकेकाले अब एक÷दुई वर्ष उत्खनन रोक्न वा मावा खोला पुलको दक्षिणपट्टि मात्र उत्खनन गर्न माग गरिएको आचार्यले बताउनुभयो ।

मावा खोला पुलको दक्षिणपट्टि भने उत्खनन नहुँदा खोलाको भाग अग्लो भएको छ । जसले गर्दा सो क्षेत्रमा मानव बस्तीभन्दा खोला अग्लो हुँदा सो क्षेत्रमा पनि जोखिम बढेको उहाँले बताउनुभयो । त्यस्तै मावा खोलामै दमक–३ मा सात वटा बालुवा प्रशोधन उद्योग सञ्चालन गर्दा नदी किनार, आसपासका मानव बस्ती र कृषियोग्य भूमिमा क्षति पुगेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । मावा खोलामा नदीजन्य पदार्थ निकासीका लागि उर्लाबारी नगरपालिका र दमक नगरपालिकाले समन्वय नगरी ठेक्का लगाउँदा समस्या निम्तिएको उत्खनन नियन्त्रण समितिका अध्यक्ष भण्डारीले गुनासो गर्नुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जनप्रतिनिधि आउनुभन्दा अघि जथाभावी उत्खनन भए पनि अब त्यो कार्य हुन नदिने बताउनुभयो । नगरपालिकाले खोला ठेक्कामा लगाइसकेकाले खोलाको उत्खनन र निकासीको नगरपालिकाले निगरानी गर्ने प्रतिबद्धता जनाउनुभयो ।
रासस