७ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान संशोधनको प्रस्ताव ल्याउन माग

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०७५, बिहीबार १२:१९

काठमाडौं । राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उहाँले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गर्नुभयो । उहाँले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्मा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका रामसहाय यादवले मधेश, आदिवासी र जनजातिको आन्दोलनले सङ्घीय शासन प्रणाली स्थापना भए पनि परिवर्तन संस्थागत हुन नसकेको बताउँदै मौलिक हकसम्बन्धी ऐन कार्यान्वयनका लागि सरकार इमान्दार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

आजै अधिवेशन अन्त्य भए पनि यसपछि बस्ने अधिवेशनमा संविधान संशोधनको प्रस्ताव ल्याउन उहाँले माग गर्नुभयो । सङ्घीयताको श्रेय मधेश आन्दोलनलाई जाने बताउँदै उहाँले यसको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भौगोलिक अखण्डतालाई खलल पु¥याउन गरिने कुनै पनि गतिविधिमा आफ्नो दलको समर्थन नरहने उहाँले स्पष्ट पार्नुभयो ।