१३ बैशाख २०८१, बिहीबार
Follow Us

टालटुल गरेर दिन बिताउने प्रवृत्तिले विकासमा बाधा

sarusaru
१२ आश्विन २०७५, शुक्रबार ०२:५५

ललितपुर – नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ३६औँ वार्षिकोत्सवका अवसरमा पूर्वकार्यकारी निर्देशक, लामो समयदेखि कार्यरत कर्मचारी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

बिहीबार जावलाखेलस्थित प्रतिष्ठानको कार्यालयमा आयोजना भएको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

सो अवसरमा मन्त्री पण्डितले टालटुल गरेर दिन बिताउने प्रवृत्तिले विकासमा बाधा पुगेको बताउँदै जिम्मेवार बन्न र कामप्रति लगनशील कर्मचारीलाई प्रशिक्षण दिन प्रतिष्ठानलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “कर्मचारीले पनि आफूले पाएको ज्ञान व्यवहारमा उतार्ने र समयमा नै त्यसलाई प्रयोग गर्नुपर्छ ।”

मन्त्री पण्डितले अनुशासन खुकुलो र जिम्मेवारी बोध कम हुनु सार्वजनिक प्रशासनको मूल समस्या हो भन्दै आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, प्रतिष्ठानका पहिलो कार्यकारी निर्देशक गोरक्षबहादुर न्हुछें र पूर्वकार्यकारी निर्देशक गोपालजङ्ग रायमाझीले आगामी दिनमा प्रतिष्ठान थप परिष्कृत हुँदै जाने बताउँदै प्रतिष्ठानले प्राज्ञिक क्षेत्रमा विशेष योगदान दिँदै आएको धारणा व्यक्त गर्नुभयो ।

रासस