एजेन्सी । २०२४ को यूरो कप फुटबल जर्मनीमा हुने भएको छ । जर्मनीले यो प्रतियोगिता आयोजना गर्ने पक्का भएको हो ।
बिहीबार यूईएफा कार्यकारी समितिमा भएको मतदानमा जर्मनी आयोजकमा चयन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
जर्मनीसँगै प्रतिस्पर्धामा रहेको टर्की भने दोस्रो स्थानमा रह्यो । जर्मनीले १९८८ पछि पहिलो पटक यूरो कपको आयोजना गर्ने पक्का भएको हो । त्यो बेला पश्चिम जर्मनीले यूरो कपको आयोजना गरेको थियो ।
२०२४ मा जर्मनीमा हुने यूरो कपमा २४ देशले सहभागिता जनाउनेछन् । प्रतियोगिताका ५१ खेल अधिकतम ३२ दिनसम्म हुने जनाइएको छ ।
आयोजक चयनका लागि भएको मतदानका क्रममा जर्मनीका पूर्व कप्तान फिलिप लाम पनि उपस्थित थिए । उनले भने ‘हामी आफ्नो देशमा एक व्यवस्थित फुटबल पार्टी आयोजना गर्दैछौं ।’
२००४ पछि २०२४ मा २० वर्षपछि कुनै एक देशलेमात्र प्रतियोगिता आयोजना गर्न लागेको छ यसअघि २००४ मा पोर्चुगोलले एक्लै यो प्रतियोगिता आयोजना गरेको थियो ।
२०२० मा यूरो कप यूरोपका विभिन्न १२ देशका १२ वटा सहरमा आयोजना हुँदैछ ।
टर्कीले यसअघि २००८, २०१२ र २०१६ मा पनि यूरो कप प्रतियोगिता आयोजनाको दाबेदारी पेश गरेको थियो । तर, उसलाई हरेक पटक निराशा हात लाग्यो ।
हालसम्म टर्कीले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेको छैन । २०२० को ग्रीष्मकालीन ओलम्पिकको आयोजनाका लागि पनि उसले जापानसँग पराजित हुनुपरेको थियो ।
डिसी नेपाल