१५ चैत्र २०८०, बिहीबार
Follow Us

आजबाट सुपथ मूल्य पसल सञ्चालन

sarusaru
१२ आश्विन २०७५, शुक्रबार ०४:३१

काठमाडौं । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो ।

सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ ।

विभागका अनुसार, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् । कतिपय स्थानमा भने विभागको नेतृत्वमा खाद्य, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानको संयुक्त पसल सञ्चालन हुँदैछ ।

यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ ।

साल्ट ट्रेडिङले उपत्यकाभित्र ९ स्थानमा स्टल र तीन घुम्ती पसल सञ्चालन गर्दैछ । उपत्यका बाहिरका आफ्ना २४ डीपो तथा कार्यालयबाट पनि उसले सामान बिक्री गर्ने प्रबन्ध मिलाएको छ ।

खाद्यले उपत्यकाका पाँच र देशभर रहेका आफ्ना सञ्जालहरुबाट खाद्य सामग्री वितरण गर्नेछ । विगत वर्षहरुमा खसी तथा च्यांग्रा बिक्री गर्ने गरेको खाद्यले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनेछ । खसीबोकाको बिक्री भने घटस्थापनाबाट मात्रै शुरु हुने उसले जनाएको छ ।

दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनहरुमा छुटको व्यवस्था गरेको छ । उसले आफ्ना उत्पादनहरु बिक्री स्थलहरुबाट बिक्री हुने भएको जानकारी दिँदै लाभ लिन सबैमा आग्रह गरेको छ ।
अनलाइन खबर