सरला बिक, सचिव, राप्रपा महिला संघ

सामाजिक रूपान्तरणका लागि नागरिक समाजले सरला बिकलाई राष्ट्रिय नारी सम्मान दियो । त्यस्तै, देशले नै गौरव गर्नुपर्ने नारीबाट पनि उनी सम्मानित भइन् । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र सामाकोसीकी एकाइ अध्यक्ष सरला दर्जनौं संघसंस्थामा आबद्ध छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संघको सचिवसमेत रहेकी सरला यतिबेला आमनागरिकमा दलित सोच हटाउने अभियानमा क्रियाशील छन् । राजनीति र नेपाली समाजमा दलित महिलाको अवस्थाबारे सरलासँग कुमार राउतले गरेको कुराकानी

० धेरै संघसंस्थामा आबद्ध हुनुहुन्छ ?
– हो, दर्जनभन्दा बढी संघसंस्थामा आबद्ध छु, सामाजिक अभियान्ताका रूपमा क्रियाशील भएपछि संघसंस्थामा स्वतः आबद्ध हुँदै गइँदो रहेछ ।

० सबै संघसंस्थामा समय दिन सकिन्छ ?
– सक्नुपर्छ भन्ने मेरो मान्यता हो । महिला हुनुको नाताले कहिलेकाहीँ समय दिन नसक्ने अप्ठ्यारो परिस्थिति पनि सिर्जना हुँदो रहेछ । सेवा गर्ने मानसिकता बनाएपछि तनाव लिनु हुँदैन ।

० के सहयोग गर्नुहुन्छ ?
– महिला दिदीबहिनीका हरेक अप्ठ्यारो फुकाउन सहयोग गर्छु । विशेषतः महिला दिदीबहिनीलाई सीप सिकाएर आत्मनिर्भर बनाउने बाटोमा लागेको छु । त्यो सँगसँगै छुवाछूतको भावना हटाउने अभियान पनि हामीले संस्थागत रूपमा सञ्चालन गरेका छौं ।

० कतिलाई आत्मनिर्भर बनाउनुभयो ?
– हामीले सिटिइभिटीमार्फत सिलाइ बुनाइको तालिम दिन्छौं । यो दुई वर्षको अवधिमा झन्डै सयभन्दा बढीलाई सीप सिकायौं र उनीहरूलाई आत्मनिर्भरको बाटो देखायौं ।

० सीप सिकेका सबै रोजगारी भए ?
– हामीले जुन लक्ष्य लिएका थियौं, त्यसमा आधा सफलता पायौं । सयमध्ये ५० जना अहिले आत्मनिर्भर बनिसकेका छन् ।

० यो समाजले दलितसँग कस्तो व्यवहार हुन्छ ?
– ऐन कानुन कागजमा सीमित छ । व्यवहार पहिलेभन्दा सुधार हुँदै गएको छ । यद्यपि सहरी क्षेत्रको तुलनामा ग्रामीण दलित महिलाको अवस्था जस्ताको त्यस्तै छ । सहरी क्षेत्रमा पनि दलितले बस्न कोठा नपाउने समस्या अहिले पनि छ ।

० के भन्छन् घरबेटी ?
– कोठा बस्नलाई सबै कुरा मिल्छ । अन्त्यमा जात सोधेपछि हच्किन्छन् । घरको पूजा गरेको छैन, केही समयपछि बोलाउँछु भनेर तर्किन्छन् । नेपाली सेनाकै मान्छेले जातभातको कुरा गरे विभेद गरेको उदाहरण छ ।

० महिलालाई झन् गाह्रो होला ?
– दलित महिला घरबाटै निस्कँदैनन् । निस्के पनि आफूमाथि विभेद हुने हीनभावना उनीहरूमा ग्रसित छ ।

० राजनीतिले त संरक्षण गरेको छ नि ?
– स्थानीय तहमा एकजना दलित महिला अनिवार्य गरिएको छ । त्योभन्दा माथि यी दमिनी कमिनीलाई उठ्न दिनु हुँदैन भन्ने मानसिकता नेपाली समाजमा विद्यमान छ ।

० तपाईंमाथि पनि विभेद भयो ?
– काठमाडौंमै जन्में हुर्के, स्कुल पढ्दासम्म मलाई विभेदको कुनै अनुभूति भएन । जब काम गर्न थाले त्यसपछि विभेदको फिल भयो । विभेदको प्रमाण मसँग प्रशस्त छन् ।

० किन यस्तो हुन्छ ?
– मान्छेको सोचमा परिवर्तन भएकाले हो । अहिलेको एक्काइसौं शताब्दीमा दलित भनेर मानिसलाई विभेद गर्नु आफंैमा हास्यास्पद हो ।

० कहिलेसम्म रहला यस्तो व्यवहार ?
– मानिसको सोचमा परिवर्तन नभएसम्म यस्ता विभेद भइरहन्छन् । पछिल्लो समय युवा पुस्ता र सञ्चारको विकाससँग विभेद न्यूनीकरण हुँदै गएको जस्तो लाग्छ ।

० दलित–दलितभित्र पनि विभेद हुन्छ ?
– महिलाको शत्रु महिला भनेजस्तै दलितभित्र पनि विभेद छ । जुन कुरा गैरदलितले छुटाउन सक्दैनन् । हामीले पहिचान मात्र खोजेका हौं । पहिचानको मुद्दामा सबै दलित एकै ठाउँमा उभिनुपर्ने हो ।

० सीमित दलितले मात्र सुविधा लिएका हुन् ?
– हो, राज्यमा पहुँच भएका, पद र प्रतिष्ठा ओगटेका व्यक्तिमा दलितको नाममा आएको सुविधा उपभोग गरिरहेका छन् । राज्यको पहुँचमा नरहेका दलितहरूले आफ्नो नाममा के सुविधा दिएको छ भन्ने कुरासमेत जानकारी पाउँदैनन् । यो सबैभन्दा ठूलो विभेद हो, यो यथार्थलाई चिर्न आवश्यक छ ।

० कसरी सम्भव छ ?
– यसका लागि शिक्षा महत्वपूर्ण हो । परिवार, गाउँ र समाजबाटै अभियान सञ्चालन गर्नुपर्छ । चेतना अभिवृद्धिसँगै यदि विभेद भयो भने ऐन कानुन कार्यान्वयन गर्नुपर्छ ।

० अभियान सञ्चालन गरेर खान पुग्छ ?
– अभियानले खान दिँदैन, त्यसका लागि काम गर्नुपर्छ । घरपरिवारको साथ र सहयोगले सामाजिक अभियान्ता बनेकी हुँ ।

० श्रीमान्ले सहयोग गर्नुहुन्छ ?
– श्रीमान्लगायत बच्चा हुर्किएका छन् । उनीहरूले घरको काममा सहयोग पु¥याएका छन् । कार्यालय समयबाहेक श्रीमान्ले पनि त्यत्तिकै सहयोग गर्नुभएको छ ।

० के गर्नुहुन्छ श्रीमान् ?
– नेपाल प्रहरीको पेन्सनर हुन् । अहिले निजी क्षेत्रमा काम गर्नुहुन्छ ।

० विवाह कसरी सम्भव भयो ?
– नाताले उहाँ मामाको सालो हुनुहुन्थ्यो, चिनजान पहिलेदेखि नै थियो । घरपरिवारकै सल्लाहअनुसार हाम्रो विवाह भएको हो ।

० कति पढ्नुभयो ?
– दस कक्षा पास गरें, विवाह भयो, बालबच्चा हुर्काउन थालें । त्यसपछि पढ्नलाई अनुकूल समय भएन ।

० राजनीतिमा पनि संलग्न हुनुहुन्छ ?
– छु, म राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संघको सचिव हुँ ।

० पार्टी त खिएर सकिन लाग्यो होइन ?
– होइन, राजनीतिक दल हो, कहिले सत्तामा हुन्छ, कहिले सडकमा । अहिले हामी कमजोर भएका छौं ।

० कसले कमजोर बनायो ?
– कुनै एक व्यक्तिलाई दोष दिएर हुँदैन । यसका लागि हामी सम्पूर्ण नेता कार्यकर्ता जिम्मेवार छौं । सधैंका लागि हामी कमजोर भएका पनि होइनौं, हामीले हरेस खाएका छैनौं । कमजोरीलाई मूल्यांकन गरेर अघि बढ्ने पे्ररणा लिएका छौं ।

० पार्टीमा अध्यक्ष कमल थापा निरंकुश छन् भन्छन् ?
– राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा सिद्धान्त र विचार लिएर हिँडेको छ । त्यसको नेतृत्व कमल थापाले लिनुभएको छ । पार्टीलाई सिद्धान्त र विचारमा हिँडाउँदा अध्यक्षलाई कसैले निरंकुश भन्छ भने त्यो दृष्टिदोष मात्र हो ।

० पार्टीले दलितलाई राम्रो स्थान दिएको छ ?
– नेतृत्व कसैले दिने होइन, क्षमताले पाउने हो । यद्यपि दलितलाई पनि नेतृत्वमा ल्याउनुपर्छ भन्ने नेताहरू एकदमै न्यून छन् । दलितको खुट्टा तान्ने प्रवृत्ति राप्रपा मात्र होइन, अन्य राजनीतिक दलमा पनि त्यत्तिकै देखिएको छ ।